आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वती माताको दिन

सिद्धाश्रम शक्ति केंद्र,

हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।

जो चन्द्रको समान उज्ज्वल हुनुहुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित सुशोभित हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रहृमा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वतीले हाम्रा अज्ञानहरू चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् ।

सरस्वती पूजा वा भनौँ, श्रीपञ्चमी भनौँ वा वसन्त पञ्चमी विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन । यस दिनदेखि क्रमशः वसन्त ऋतुको शुरुआत हुने मान्यता रहेको छ । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट क्रमशः अब कोइलीको कुहुकुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दु संस्कारका अत्यन्त व्यवहारिक आयामहरू छन् । यी संस्कारहरू नेपालीपनका अभिन्न अङ्गहरू भएका छन् । हलो, गोरु, माटो, बोट विरुवा, कुकुरलगायत चेलीबेटी, औजारहरू अनि अन्नबालीहरूका साथै यस दिन सृजना अनि ज्ञानको पूजा गर्ने दिन हो ।

ब्रहृमविवर्तपुराणमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई यस दिनको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनी भगवान् श्रीकृष्णले वरदान दिएका हुन् । बिहानै उठेर प्रातः स्नानपछि चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरूको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरूमा त यस दिन विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गीन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलफूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विद्यालयमा विद्यार्थीहरूको सक्रियतामा शाकाहारी भोजन आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ, रङ्गीन तोरणहरू झुण्ड्याएर, अशोकको रूखको पात वा केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाइएको प्रवेश द्वारहरूबाट यस दिन धेरै विद्यालयहरू सजिसजाउ रहन्छ ।

विद्यार्थीहरूका लागि आजको अर्काे आकर्षण भने यस दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरूको लर्काे आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

काठमाडौँमा विभिन्न सरस्वती मन्दिरहरू जस्तै नीलबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विद्याका केन्द्र विद्यालयहरूमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मूर्ति, जसलाई बुद्धमार्गीहरूले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन्, त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

नेपालको परिवेशमा कुरा गर्ने हो भने हामी नेपाली साँच्चिकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्यभरिको धेरैजसो सरकारी विद्यालयहरूमा कहीँ कतै सानो वा ठूलो सरस्वतीको मन्दिर रहेको छ । सरस्वती देवीलाई हिन्दु धर्म वा संस्कारसँग भन्दा पनि मानवहरूको विद्याप्रतिको आशक्तिका रुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म वा विश्वासको भए पनि हाम्रो विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रुपमा विद्यादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्ये धेरैले अक्षरारम्भ गरेका हुन सक्छाँै, अर्कोतर्फ आजको दिन सर्जकहरूको दिन हो । आÇना सिर्जना र शब्दहरूको पूजा गर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरू कलम, मसी अनि कागजको यस दिन पूजा गरिन्छ, सरस्वतीको असीम कृपाले सकारात्मक शब्दहरू, भावहरू, व्याख्याहरूको पदार्पण भइरहोस्, सर्जकहरू चाहे लेखक हुन् वा गायक हुन् वा सुचिकार वा घर बनाउने मिस्त्रीदेखि मूर्ति बनाउने मूर्तिकारसम्म सबैले आÇनो सिर्जनाको सम्मान तथा मूल्य पाऊन्, जाँगर लागिरहोस् अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

आजको वसन्त पञ्चमीलाई मुस्लिम समुदायले सुफि बसन्तका रुपमा १२ औँ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किंवदन्तीहरूमा पाइन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्दीनका भतिजा तकुद्दिनको असामयिक मृत्युले निजामुद्दीन अत्यन्त मर्माहत भएका थिए, सुफीका महान् कवि अमिर फुस्रोले फकिरलाई खुशी पार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दै गएर फकिरलाई हसाउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरू रहेको छ । त्यसपछि आजको दिनलाई निजामुद्दीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैँ सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।

तपाईँ हामी जुनसुकै धर्म वा संस्कृति वा विश्वास भएका व्यक्ति हौँ तर विद्या हामी सबैलाई आवश्यक छ, सिर्जना र सर्जकको कदर हामी सबैले गर्न जरुरी छ ।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरूले हामीलाई ज्ञान अभिव्यक्त गर्दा सदैव साथ दिऊन्, ए. बि. सि. डि. आदिका अक्षरस प्रयोग जारी रहोस्, व्याकरणले साथ देओस्, सङ्गीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरूले साथ दिऊन् । मुख्य कुरा शृङ्गार रसले जीवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

विद्याकी देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षरारम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तकसँगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक वर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही वर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासंघले आÇनै पहलमा विभिन्न कार्यक्रमहरू गरेर राष्ट्रिय पुस्तक दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरूमा विद्याकी देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शब्दमालामा सदैव रहिरहोस् । विद्याको कमी यस भूमिमा कदापि नहोस् ।

जय गुरुदेव ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।