एसिया कप खेल्ने नेपालको लक्ष्य

एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय र मूलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर कप च्याम्पियनसिप सुरु हुँदै छ । प्रतिस्पर्धामा सहभागी १० राष्ट्रका एउटै लक्ष्य शीर्ष स्थानमा रहँदै एसिया कपमा सहभागिता जनाउनु नै हुनेछ । एसिया कपमा छनोट हुने टोलीले एकदिवसीय खेलका पूर्वविश्व च्याम्पियन भारत, पाकिस्तान, श्रीलंकासँगै बंगलादेशविरुद्ध खेल्न मौका पाउनेछ । यही अभूतपूर्व अनुभव बटुल्ने लक्ष्यमा नेपाली टोली रहेको छ । 

एकदिवसीय खेलको पछिल्ला १२ खेलको तथ्यांक निकाल्दा नेपालले १२ मध्ये ११ खेलमा सानदार जित निकालेको थियो । उत्कृष्ट फर्ममा रहेको नेपालले घरेलु मैदानमा अर्को उपलब्धिका साथ एसिया कपमा छनोट हुने आशा लिएर मैदानमा उत्रनेछ । गत फागुन–चैतमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा लोभलाग्दो खेल प्रदर्शन गरेको थियो । प्रशिक्षक मोन्टी देसाईको आगमनमा नेपालले आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थानमा रहँदै एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । 

यही जितको निरन्तरता जारी राख्ने योजनामा रहेको नेपाल एसिसी प्रिमियर कपको समूह एमा छ । प्रतियोगितामा नेपालसँगै युएई र ओमानलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । सहभागी टोलीमध्ये यी तीन राष्ट्र मात्र एकदिवसीय मान्यता प्राप्त हुन् । बाँकी सबै आइसिसीको टी–२० मान्यताप्राप्त राष्ट्रका रूपमा छन् । वरीयतामा नेपाल नै शीर्ष स्थानमा छ । नेपाल आइसिसीको एकदिवसीय वरीयतामा १४औँ र ओमान १५औँ स्थानमा छन् । नेपालका कप्तान रोहितकुमार पौडेलले पाकिस्तान र भारतसँग खेल्ने अवसर प्राप्तिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । 

‘अहिलेसम्म हामीले क्रिकेटकै ठूला टोली पाकिस्तान र भारतसँग खेलेका छैनौँ, उनीहरूसँग खेल्ने राम्रो अवसर छ,’ प्रतियोगिताको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘छनोट भए उनीहरूसँग खेल्न पाउनु राम्रो अवसर हो ।’ यद्यपि, एसिया कपको मिति टुंगो लागेको छैन । तर, प्रिमियर कपको विजेताले पाउने प्रतिद्वन्द्वी तयार भएका छन् । एसिया कप यसै वर्ष पाकिस्तानमा हुने भनिएको छ । भारत–पाकिस्तानबीचको आन्तरिक राजनीतिक विवादका कारण खेलको मिति अहिलेसम्म घोषणा भइसकेको छैन ।

विजेताले भारत र पाकिस्तानसँग खेल्ने
एसियन कपमा ६ टोलीको सहभागिता छ । समूह ‘ए’मा पाकिस्तान र भारत छन् । एएफसी च्यालेन्ज कपको विजेताले यही समूहबाट खेल्नेछ । एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालका कप्तान रोहित एसिया कपमा केन्द्रित हुनुभन्दा पनि एसिसी प्रिमियर कपमै राम्रो गर्नुपर्ने बताए । ‘हामीले अहिले एसिसी प्रिमियर कप जित्ने लक्ष्य राख्नुपर्छ । यो जिते मात्रै अगाडि बढ्न सकिन्छ ।’ एसिसी प्रिमियर कपको समूह ‘ए’मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया छन् । 

नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग मंगलबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा खेल्नेछ । नेपालका प्रशिक्षक देसाईले एसिसी प्रिमियर कप जित्नै ध्यान केन्द्रित गर्ने बताए । ‘हामीले ठूलो योजना बनाइरहेका छौँ, एसिया कप खेल्न मानसिक रूपमा तयार छौँ,’ उनले भने, ‘सुरुमा विजेता हुनुपर्‍यो, त्यसपछि मात्र एसिया कप हो ।’

मलेसियाविरुद्ध पाँच खेलमा अपराजित
नेपालले पछिल्ला पाँच खेलमा प्रतिद्वन्द्वी मलेसियालाई हराएको अवस्था छ । सिनियर तथा उमेर समूहमा नेपाल र मलेसियाबीच रोमाञ्चक प्रतिस्पर्धा हुने गर्छ । सन् २०१८ को मलेसियामा भएको एसिया कप छनोट प्रतियोगितामा नेपाल १९ रनले विजयी भएको थियो । यसैगरी, सन् २०१४ मा मलेसियामै आयोजना भएको विश्वकप क्रिकेट लिग डिभिजन–३ मा नेपालले मलेसियालाई ३६ रनले हराएको थियो । सन् २०१४ मै एसिसी प्रिमियर लिगमा नेपालसँग मलेसिया पाँच विकेटले पराजित भएको थियो । सन् २०१२ को एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपाल २१ रनले विजयी भयो । २०१२ को डिभिजन–४ मा मलेसियामाथि नेपालले १० विकेटले जित निकालेको थियो ।

मूलपानीमा पहिलो अन्तर्राष्ट्रिय खेल
हङकङ र सिंगापुरबीच आज खेल हुँदै गर्दा मूलपानी माथिल्लो मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेलको दर्ता हुनेछ । नेपाल सरकार र आइसिसीको सहयोगमा यो मैदानले पहिलोपटक पूर्णता पाएको हो । यसअघि, घरेलु प्रतियोगिता आयोजना भए पनि अन्तर्राष्ट्रिय खेल आयोजना भएको थिएन । क्यानले प्रधानमन्त्री एकदिवसीय खेलसँगै विभिन्न प्रतियोगिता यो मैदानमा आयोजना गरेको छ । क्यानले यही प्रतियोगिताका लागि दुई महिनादेखि मैदान बनाउने काम गरेको थियो ।

क्यानले बंगलादेशबाट क्युरेटर झिकाएर पिच बनाएको छ । क्यानले स्कोर बोर्ड, दर्शक बस्ने स्थान, बाउन्ड्री लाइनसहित मैदानमा तारबार लगाउँदै आइसिसी मान्यताअनुसार निर्माण गरेको छ । ०६० सालमा आइसिसीको परियोजनाअनुसार यो मैदान बनाउन थालनी भएको हो । चार सय रोपनीमा मूलपानीमा दुई मैदान छन् । सरकारको सहयोगमा तल्लो मैदान बन्ने क्रममा छ । मूलपानी मैदानमा एक सेमिफाइनलसहित ११ खेल आयोजना हुनेछन् ।

हामी मानसिक रूपमा तयार छौँ

मोन्टी देसाई, प्रशिक्षक, नेपाल
हामी घरेलु मैदानमा खेल्दै छौँ । सबैले प्रतियोगिताको महत्व बुझेका छन् । घरेलु मैदानमा समर्थक धेरै हुनेछन्, सबै मानसिक रूपमा तयार छन् । ब्याट्सम्यान र बलरले तयारी राम्रो गरेका छन् । सहभागी १० टोलीको एउटै लक्ष्य विजेता हुने हो, यस कारण हरेक टोली राम्रो गर्न चाहन्छन् । हामी सबै खेल जित्नमा ध्यान केन्द्रित गर्छौं ।

नेपाल योर्कर र डेथ बलमा केन्द्रित 

रोहितकुमार पौडेल, कप्तान, नेपाली टोली
सबैले व्यक्तिगत तयारी राम्रो गरेका छन् । हामीले प्रतियोगिताका लागि १५ दिन अभ्यास गर्‍यौँ । बलिङ र ब्याटिङमा सबैले राम्रो गर्नुपर्छ । विश्वकप लिग– २ पछि कमजोरी के छ, त्यसमा फोकस भयौँ । योर्कर बलिङ फ्याल्न र डेथ बलमा राम्रो तयारी गरेका छौँ । ब्याट्सम्यानले व्यक्तिगत पक्ष सुधार गर्ने अपेक्षा छ । हामी सबै टोलीको उत्तिकै सम्मान गर्छौं । 

Related Post
बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि

खेलको सुरुवाती समय दुवै टोलीले विपक्षी हाफमा बल पोसेसन बनाउँदै आक्रमण बुन्न खोजेपनि पोस्टमा प्रहार हुन सकेन । छैटौं मिनेटमा थियागोले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रयास पोस्टभन्दा निकै माथिबाट बाहिरियो ।