चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँमा

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौँ पुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत आठ लाख मात्रा खोप नेपाल पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा पुगेको हो ।
उहाँले थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताउनुभयो ।यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उहाँले जानकारी दिनुभयो। प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ ।
सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेको नेपाल टिभी अनलाइनले जनाएको छ।