भैँसेपाटीमा १ अर्ब लगानीमा मन्त्री क्वाटर लगभग तयार

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण तीव्र गतिले बढिरहेको छ। मन्त्री क्वाटरका संरचनागत काम लगभग सक्किएका छन्। क्वाटरभित्र रङरोगन, झ्याल, ढोकादेखि विद्युतसम्मका काम बाँकी रहेको सेतोपाटी अनलाइनले लेखेको छ।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। ठेक्का सम्झौताअनुसार मन्त्री निवास आउँदो कात्तिकसम्म तयार भइसक्नु पर्नेछ। सहरी विकास मन्त्रालयले कोभिड-१९का कारण समयमा काम सम्पन्न नहुने देखिएकाले चार महिना समय थप्ने तयारी गरिरहेको छ।

मन्त्री क्वाटरको निर्माण सम्पन्न छिट्टै हुने देखिए पनि मन्त्रीहरू तत्काल सर्न पाउने छैनन्। सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने कामको अझै ठेक्का भएको छैन। दोस्रो चरणको कामको ठेक्कामा ढिलाइले मन्त्री क्वाटर निर्माण सम्पन्न भएपछि पनि प्रयोगविहीन हुने सम्भावना छ।

आयोजनाका प्रमुख इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले सेकेन्ड फेजको कामपछि मात्र भवन बस्न योग्य हुने बताउनुभयो। ९६ रोपनी १० आना जग्गामा बनिरहेको मन्त्री क्वाटरमा कम्युनिटी हलदेखि जिम हल र स्विमिङ पुलसम्म बनाउने योजना रहेको कर्माचार्यले बताउनुभयो। मन्त्री क्वाटरको काममा भने अब इन्टेरियरको काममात्र बाँकी भएको उहाँले उल्लेख गर्नुभयो। सरकारले मन्त्री क्वाटरलाई सुविधासम्पन्न बनाउने गरी काम गरिरहेको छ।

'प्रत्येक भवनमा ग्राउन्ड फ्लोरमा वेटिङ रूम, हल र सचिवालय राख्ने ठाउँ छ', कर्माचार्यले भन्नुभयो, 'पहिलो तल्लामा मन्त्रीहरूका लागि सुत्ने ठाउँ र दोस्रोमा पाहुना बस्न मिल्ने गरी बनाइएको छ।'

मन्त्री क्वाटर मल्लकालीन शैलीमा निर्माण भइरहेको छ। भवनको ढलानमाथि झिंगटी राखेर परम्परागत शैली दिइने कर्मचार्यले बताउनुभयो। भवनको बाहिरी कम्पाउन्डसँगै ३ मिटरको हिँड्ने बाटो निर्माण हुनेछ। जहाँ मन्त्री र उनका परिवारका सदस्यले मर्निङ वाक गर्न सक्नेछन्। कर्मचार्यका अनुसार अहिले बनिरहेका सबै भवनबाट हिमाल देखिनेछ।

'सकेजति हामीले वास्तु पनि मिलाएका छौं', कर्माचार्यले भन्नुभयो, 'एउटा घरभन्दा पनि हामीले २७ वटा बनाएकाले सबै मिलेको छैन। तर कतिपय भवनमा भर्‍याङ राख्ने ठाउँहरू फरक छन्।' १ अर्ब ३ करोडमा निर्माण भइरहेको मन्त्री क्वाटर निर्माणमा लकडाउनअघि ४ सयसम्म कामदारले काम गरेको कर्माचार्यले उल्लेख गर्नुभयो।

'कामदार भए पनि निर्माण सामग्री अभावले लकडाउनका बेला काम अघि बढेन', उहाँले भन्नुभयो, 'त्यसैले निर्माण सम्पन्न हुन थप समय लाग्न सक्छ।'

हाल मन्त्रीहरू ललितपुरकै पुल्चोकमा बस्दै आएका छन्। २०२८ सालमा बनेको मन्त्री निवास पुरानो र जीर्ण अवस्थामा छ। पटक-पटक मर्मत गरेर भवनहरू प्रयोगमा ल्याइने गरेको छ। २०२८ सालमा पुल्चोकमा १४ वटा मन्त्री निवास बनाइएको थियो। पछि २०५४ सालमा सरकारले ५ वटा भवन थपेको थियो। हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथि गृह बनाउने सरकारको तयारी छ।

कर्माचार्य मन्त्रीहरूका लागि भैंसेपाटीको ठाउँ उपयुक्त रहेको बताउनुहुन्छ। सिंहदरबारदेखि मन्त्री निवासको दुरी ६ किलोमिटरमात्र रहेको छ। कर्माचार्य मन्त्रीहरूलाई सुविधा दिँदा राम्रो प्रतिफल आउने अपेक्षा गर्नुहुन्छ। 'मन्त्रीलाई सुविधासाथ राखे देशका लागि राम्रो सोच्लान् कि', कर्मचार्य भन्नुहुन्छ,' अग्लो ठाउँ छ। वातावरण पनि राम्रो छ। हिमाल देखिन्छ। राम्रो हुन्छ भन्ने ठानौं न।'

मन्त्री क्वाटरसँगै भैंसेपाटीमा मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि आवास र सम्पर्क कार्यालय निर्माण पनि तीव्र गतिले भइरहेका छन्।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।