संविधान रक्षा र प्रतिगमनविरुद्ध एमालेको जनसभा गुल्मीमा सम्पन्न
रामकृष्ण कंडेल,तम्घास,गुल्मी✍️
संविधानको रक्षा र पछिल्ला राजनीतिक घटनाक्रमका बीच देखिएको प्रतिगमनविरुद्ध नेकपा एमाले जिल्ला कमिटी गुल्मीले आइतबार तम्घासस्थित लाँकुरीमञ्चमा आयोजना गरेको जनसभा भव्य रूपमा सम्पन्न भएको छ। लोकतन्त्र र संविधानको रक्षा, संसद पुनर्स्थापना,सर्वपक्षीय सरकार गठन तथा जेन जी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर शनिबार एमाले गुल्मीले तम्घासमा प्रदर्शन सहित जनसभा गरेको हो।
भदौ २३–२४ का घटनामा योजनाबद्धता देखिन्छःज्ञवॅाली
कार्यक्रमका प्रमुख अतिथि तथा एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले हालैका घटनाले मुलुक गम्भीर अस्थिरतामा फस्न लागेको टिप्पणी गरे। उनले भदौ २३ र २४ मा देशभर घटेका आगजनी र तोडफोडका घटनालाई “योजनाबद्ध विध्वंस”का रूपमा व्याख्या गर्दै यसबारे निष्पक्ष छानबिन अपरिहार्य रहेको बताए।
ज्ञवालीका अनुसार कमाण्डो ड्रेस लगाएका समूह,रास्वपा,वाईसियलहरूले आगो लगाएको, प्रहरीका हतियार खोसिएको, १९ जना बालबालिकाको ज्यान गएको तथा सात घण्टाको अवधिमा १ हजार ६ सयभन्दा बढी संस्थामा आगजनी भएको तथ्यले घटनामा ठूलो राजनीतिक खेल संलग्न रहेको देखिन्छ।
“गुल्मी प्रतिरोधको जिल्ला हो। यहाँको चेतना जुरुक्क उठेको छ, सबैलाई सलाम छ। तर देश अहिले आक्रान्त अवस्थामा छ। सरकारले चुनावका लागि आवश्यक वातावरण बनाउन सकेको छैन।”उपमहासचिब ज्ञवालीको भनाई थियो।
ज्ञवालीले सिमीचौर विमानस्थल, कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्गलगायत पूर्वाधार एमाले सरकारका उपलब्धि भएको स्मरण गरे। “ध्वंसबाट क्रान्ति हुँदैन,देश उठाउन कठिन परिश्रम र स्थिरता आवश्यक छ”ज्ञवालीको भनाई थियो।
विष्ट : आन्दोलनमा गलत तत्व घुसे
कार्यक्रमका विशेष अतिथि तथा एमाले सचिव गोकर्ण विष्टले पछिल्लो समय जातीय,धार्मिक र भाषिक द्वन्द्व भड्काउने प्रयास भइरहे पनि एमाले ले त्यसलाई रोक्दै आएको दाबी गरे।विष्टले भने, “जेन्जीका मागहरूप्रति हाम्रो कुनै विमति छैन। उनीहरू सबै दलका नेताका छोराछोरी नै हुन्। तर आन्दोलनमा गलत तत्व घुसाइयो र त्यसले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनीजस्ता घटना निम्त्यायो, जुन दुखद हो।”सचिब बिष्टका अनुसार हतियार लुटिनु, कैदी भाग्नु र राज्य संयन्त्र निष्क्रिय देखिनुले सरकार असक्षम साबित भएको छ। “एमाले कहिल्यै चुनावबाट भाग्दैन।संविधान र जनअधिकार रक्षा गर्न आवश्यक परे संबिधान संशोधन सहित अघि बढ्न हामी तयार छौं,” विष्टले भने।
झाँक्री : राष्ट्रिय सहमति र संवाद आवश्यक
विशेष अतिथि नेतृ रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई असंवैधानिक भन्दै दलहरूसँग संवाद शुरू गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।उनले भनिन्, “संविधान पुनःस्थापना र निर्वाचनका लागि वातावरण तयार गर्नु सरकारकै दायित्व हो। देशको अखण्डता जोगाउन एमाले टोल–टोलबाट उठ्नुपर्ने बेला यही हो।”नेतृ झाँक्रीका अनुसार जेन्जीका मागहरू सम्बोधन गर्न सक्ने क्षमता एमाले संग मात्रै छ र त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य छ।
जनसभामा ठूलो सहभागिता
जनसभामा गुल्मीका विभिन्न स्थानीय तह बाट पार्टी नेता कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय नेताहरू,कार्यकर्ता तथा नागरिकले संविधानको रक्षा,राजनीतिक स्थिरता र राष्ट्रिय एकताको पक्षमा नारा लगाएका थिए।
जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाको अध्यक्षता,उपाध्यक्ष जीवन खरेलले स्वागत मन्तव्य तथा जिल्ला सचिव धर्म विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।