त्रिभुवन नमूना माविले मनाउँदै हीरक महोत्सव
रामकृष्ण कंडेल,वामीटक्सार✍️
बागलुङ को बडिगाड गाउँपालिका–२, खर्वाङमा अवस्थित श्री त्रिभुवन नमूना माध्यमिक विद्यालयले आफ्नो स्थापना भएको ६६औँ वर्ष भव्य रूपमा मनाउने तयारी गरेको छ। हीरक महोत्सवको अवसर पारेर विद्यालयले आवासीय विद्यालय तथा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजनासहित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ मंसिर २१ देखि २८ गतेसम्म आयोजना गर्न लागेको छ।रुद्रावती (बडिगाड) र दरम (गंगोत्री) नदीको संगम, देवीढोका खड्कदेवीको काख तथा शालिमे मुसिकोटको छायाँमा अवस्थित खर्वाङ क्षेत्र भूगोल, संस्कृति र शिक्षा तीनै दृष्टिले महत्त्वपूर्ण मानिन्छ।वि.सं. २०१७ मा स्थापना भएको विद्यालय धौलागिरि अञ्चलकै प्रारम्भिक शैक्षिक केन्द्रहरूमध्ये एकका रूपमा परिचित छ।
विद्यालयका शिक्षक होमनाथ खरालले युनिक खबरलाई जानकारी गराउँदै महायज्ञको तयारी तीव्र गतिमा भइरहेको बताउनुभयो।
महायज्ञबाट संकलित आर्थिक सहयोग विद्यालयको भौतिक विकास,छात्रावास निर्माण तथा बहुप्राविधिक कार्यक्रम सञ्चालनमा प्रयोग गरिने छ।
हीरक महोत्सवले विद्यालयको शैक्षिक यात्रालाई नयाँ उचाइमा लैजाने र खर्वाङलाई शैक्षिक–धार्मिक पर्यटनको सम्भावना बोकेको क्षेत्रका रूपमा उभ्याउने अपेक्षा गरिएको छ।
हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ (मिति २०८२ मंसिर २१ देखि २८ गते सम्म) को लागि मनोनयन पत्र हस्तान्तरण तथा छलफल कार्यक्रम शुरूगरिएको छ।