गाउँहरु शुन्य भएकै थिए, शहरबजार पनि सुनसान बन्न लागे

कविता पन्थी✍️

प्रतिदिन सामाजिक संजालमा विदेश जादै गरेका व्यक्तिलाई खादा र माला लगाएर शुभकामना दिदै गरेका दृश्यहरु आइरहन्छन् । शुभकामना भन्दै कमेन्टमार्फत लेखे पनि मनमा उथलपुथल छाउँछ । काम, माम, दाम, पढाइ र सुरक्षित भविष्यको खोजीमा प्रतिदिन देशबाट बाहिरिनेको संख्या उल्लेखनीय छ । जुनसुकै देश पनि हाम्रो गन्तव्य बनिसकेका छन् । अरेबियन देशको चर्को गर्मी होस् कि हिउँ जम्ने देशहरु हुन् अहिलेको समयमा विदेश मोह चरम अवस्थामा पुगेको छ ।
अहिलेको विश्वव्यापीकरणको समयमा देशको कुरा गर्नु संकिर्ण चिन्तन लाग्न सक्छ तर राष्ट्रियताको भावना आफैमा महत्वपूर्ण पनि हो । देश छोडेर जानेहरुलाई देशको माया नलागेको पनि त कहाँ हो र ? मुलुकमा रोजगारीको सीमित अवसर हुनु, सोचे अनुरूप आर्थिक उन्नति हुन नसक्नु, थप अध्ययनका लागि गएका पनि फर्किएर नआइ उतै पलायन हुनु आदि जस्ता कारणले अहिले थुप्रै नेपालीहरु बिदेशमा छन् । वर्तमान समयमा विभिन्न वहानामा देश छाडेर जाने दरको तथ्याङ्क डरलाग्दो छ । अहिले विद्यार्थी, शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर, दक्ष कामदार, पाइलट,सिए सबै विदेश जान चाहन्छन् । कक्षा १२ को पढाइ सकेका अधिकांश विद्यार्थीहरुको चाहना बुझ्दा धेरैको चाहना देश बाहिर जाने छ । सकेसम्म त देशमै पढोस्, देशमै काम गरोस् भन्ने हो तर आफ्नो छोराछोरीको चाहना, त्यसमा रोक्न पनि हुन्थ्यो देशमा पढाइ, त्यसपछिको रोजगारीको सुनिश्चितता भएदेखि । तर देशको अवस्था यस्तो छ, पछि पछुताउनु भन्दा जाऊ न त भने भन्ने अभिभावक पनि धेरै हुनुहुन्छ ।
वैदेशिक रोजगारले विकासको अवधारणासँगै गति लिएको हो । शुरुमा भारत, बर्मा, भुटान, तिब्बत जाने चलन थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति मुनामदनमा पनि मदन पैसा कमाउन भोट गएको प्रसङ्ग भएबाट तत्कालीन समयमा भोट/तिब्बत नेपाली गन्तव्य रहेको देखिन्छ । आफ्नो देशमा रोजगारी नपाएर कमाउन विदेश जानुपर्ने नियति आज करीब एक शताब्दी बितिसक्दा पनि ज्यूँ का त्युँ छ । २०४२ सालमा वैदेशिक रोजगार ऐन बन्यो, आठौं योजनामा वैदेशिक रोजगारका लागि गन्तव्य मुलुकहरुको खोजी गर्ने प्रक्रियालाई महत्व दिन थालिएको हो । संस्थागत रुपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्ष अघिदेखि भएको हो । नेपालीहरुको पहिलो रोजगार गन्तव्य मुलुक त भारत नै हो । सुगौली सन्धिपछि भारतीय आर्मी, ब्रिटिश आर्मीमा धेरै नेपालीहरु कार्यरत भएको, उनीहरुले गौरवपूर्ण काम गरेको इतिहास छ । मलेसिया, कतार, साउदीअरब, युएइ, कुबेत, बहराइन, ओमन, दक्षिण, कोरिया, लेबनान, इजरायल, जापान आदि देशहरूमा नेपालीहरु गएका छन् । अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युरोपका देशहरुमा नेपाली पुगेका छन्, व्यवस्थित भएर बसेका पनि छन् । शिक्षा, स्वास्थ्य,संचार, प्रविधि, विभिन्न व्यवसायमा लागेर सफलता पनि प्राप्त गरेका छन् ।
पश्चिमी देशहरू हाम्रो देशभन्दा समुन्नत छन्, शिक्षा, स्वास्थ्य, प्रविधिको राम्रो व्यवस्था छ । भौतिक सम्पन्नता छ, कानुनी शासन छ । अवसर छन्, राज्य नागरिकप्रति उत्तरदायी छ । त्यो भन्दैमा हामी सबै राम्रो र अवसरको खोजीमा जान खोज्ने हो भने देशमा बस्ने को हुन्छ । उच्चपदस्थ व्यक्तिदेखि सामान्य जनता सबैको आकर्षण बाहिरी देशहरु बनिरहदा दिर्घकालिन रुपमा समीक्षा गरिनुपर्छ कि जस्तो लाग्छ । दक्ष जनशक्तिको खडेरी पर्न लागिसक्यो । गाउँमा युवा जनशक्ति नहुँदा खेतबारी बाझो हुनु सामान्य बनिसक्यो । व्यवसायिक कृषिका कुरा गरिरहँदा पहिलेको निर्वाहमुखी कृषि पनि हुन छाडिसक्यो । गाउँ युवाविहीन छन् । बाँदरले जित्न लागिसक्यो । मानिस कम भएपछि स्कुल कलेज बन्द हुने अवस्थामा पुगेको समाचार सुनिन्छ । गाउँमा मात्र होइन, शहरबजारका पनि विभिन्न क्याम्पस, विश्वविद्यालयमा विद्यार्थीहरूको संख्या एकदमै न्युन हुन थालेको छ । ड्रप आउट उत्तिकै समस्याको रुपमा रहेको छ । गाउँ गाउँबाट शहरतर्फको बसाई सराईको कारण गाउँहरु शुन्य त भएकै थिए, अब त शहरबजार पनि सुनसान बन्न लागेका छन् । सटरहरु बन्द गरेर वैदेशिक रोजगारका सम्भावना खोजिन लागेको छ ।
यस्तो परिदृश्यप्रति गम्भीरतापूर्वक दृष्टि राखिनुपर्ने हो । कसले हेर्ने हो यो कुरालाई । देशमा रोजगारीको व्यवस्था राम्रो नहुँदा वैदेशिक रोजगारीको आकर्षण यति बढेको छ कि विदेशी भाषा प्रशिक्षण केन्द्रमा गएर बुझ्न सकिन्छ । कलेज, विश्वविद्यालयका विद्यार्थीहरू त्यही छन् । परिश्रमी हातहरुले देशमै कर्म गर्छु, पसिना यही बहाउँछु भन्दा पनि अहिले युवालाई काम दिन सकेको अवस्था छैन । स्वरोजगारीका कुरा गरे पनि निराशा सिवाय केही छैन । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान पुर्याउनु पर्छ । जनशक्ति राज्यको महत्वपूर्ण सम्पत्ति हो ।यसको कदर गरिनुपर्छ । यस्तै अवस्था रहिरहे पछुताउनु सिवाय विकल्प रहँदैन ।
यो बारेमा युवाशक्तिले पनि सोच्नुपर्छ । समस्या छन् देशमा, समस्याको समाधान पनि त अवश्य हुन्छ । आफ्नो देशको भविष्यको बारेमा चासो राख्नु हाम्रो दायित्व पनि हो । हो, बाहिरी मुलुक सुविधासम्पन्न छन् साधन सम्पन्न छन् । त्यसको आकर्षणमा एकोहोरो विदेश मोह राम्रो होइन । विश्वव्यापीकरणको युग छ, ग्लोबल भिलेज बनिसक्यो । हामी विभिन्न देशमा गएर अध्ययन अनुसन्धान गर्नुपर्छ, शिक्षा दिक्षा लिनुपर्छ तर त्यो आफ्नो लागि मात्र नभई देशको लागि पनि हुनुपर्छ । यहाँ समस्या मात्र देख्ने होइन, यहाँका अनगिन्ती सम्भावना पनि देख्नुपर्छ । समस्या नभएको ठाउँ त कहिँ पनि छैन । फेरि समस्यासँग भागेर होइन, जुधेर अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको