वामीटक्सारका बृद्दहरू हरेकदिन चौपारीमा भजन कीर्तनमा तल्लीन

रामकृष्ण कंडेल,वामीटक्सार✍️

गुल्मीको वामीटक्सार बजारस्थित स्वामीको रूखमुनीको चौपारी यतिबेला बजारकै आत्मिक र सांस्कृतिक केन्द्र बनेको छ।दिउँसोको समयमा यहाँका बृद्द–बृद्दाहरू भेला भई खैंजडी र मजुराको तालमा भजन–कीर्तन र सत्संग गर्दै आउँछन्।

गत छ महिनादेखि निरन्तर रूपमा सञ्चालन भइरहेको यो कार्यक्रम अहिले वामीटक्सार बजारको पहिचान बनेको छ।

चौपारीमा जम्मा भएका बृद्दहरूले भजन गाउँछन्, भगवानको नाम लिन्छन्,एकआपसमा अनुभव बाँड्छन् र आत्मिक शान्तिको अनुभूति गर्छन्।

७१ वर्षका तिलाराम सापकोटा भन्नुहुन्छ, “पहिले दिउँसो समय बिताउन गाह्रो हुन्थ्यो।अहिले यहाँ आउँदा मन हलुका हुन्छ,साथीहरूसँग हाँस्न र भजन गाउन पाइन्छ,जीवन नै रमाइलो भएको छ।”

त्यस्तै, ८८ वर्षका मुरारी सापकोटा मुस्कुराउँदै भन्नुहुन्छ, “खैंजडी र मजुराको तालसँगै जब सबैले भजन गाउछन्, हामीलाई नयाँ उमंग र शान्ति दुवै मिल्छ।यो चौपारी हाम्रो आत्मिक विश्रामस्थल हो।”

बजारका आगन्तुक र युवाको सहभागिता

भजन–कीर्तनको यो वातावरणले बजारमा किनमेल गर्न आउने नागरिकहरूलाई पनि आकर्षित गरेको छ। कोही केहीबेर बस्छन्,कोही भजनमा स्वर मिलाउँछन्,कोही नाचेर रमाउँछन्।युवायुवतीहरूले त चौपारीको रमाइलो क्षण टिकटक र भिडियोमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेर गाउँको सकारात्मक छवि फैलाइरहेका छन्।

वडाध्यक्ष हरीहर सापकोटा भन्नुहुन्छ, “हामीले बुढाबुढीहरूलाई हाँस्दै,भजन गाउँदै र भजनमा तल्लीन देख्दा निकै आनन्द लाग्छ। उहॅाहरू हाम्रो गाउँका संस्कार र आस्थाका जीवित प्रतीक हुनुहुन्छ”।अध्यक्ष सापकोटाले आफुहरूले उहॅाहरुको माग अनुसार वडा बाट रकम बिनियोजन गरेर वामीटक्सारमा ट्रस निर्माण गरिदिन लागेको युनिक खवर लाई जानकारी दिनुभयो।

समाजसेवीहरूको पहल

यो अभियानको सुरुवात र निरन्तरता दिनमा समाजसेवी तिलाराम सापकोटा र भोजराज सापकोटाको भूमिका महत्वपूर्ण रहेको छ।

समाजसेवी तिलाराम सापकोटा भन्नुहुन्छ, “यो केवल धार्मिक कार्य होइन, समाजमा एकता, संस्कार र सद्भाव फैलाउने अभियान हो। बृद्दहरूलाई सम्मानपूर्वक समाजमा सक्रिय राख्ने हाम्रो उद्देश्य हो।”त्यस्तै ८२ बर्षिय दिर्घ बहादुर रायमाझी भन्नुहुन्छ, “संस्कार हराउँदै गएको समयमा बृद्दहरूको आस्था र अनुभव नै हाम्रो समाजको बल हो। यही सोचका साथ हामी यो अभियान निरन्तर अघि बढाइरहेका छौं।”

संस्कार, आत्मिकता र आधुनिकताको संगम

चौपारीमा अहिले बृद्दहरूको भजन–कीर्तनसँगै महिला समूह र युवाहरूको पनि सक्रियता बढ्दै गएको छ। महिलाहरूले भजनहरू गाएर कार्यक्रममा रंग भर्छन् भने युवाहरूले नाचगान र भिडियोमार्फत त्यसलाई नयाँ स्वरूप दिन्छन्।यसले पुरानो संस्कार र नयाँ पुस्ताबीच सांस्कृतिक पुल निर्माण गरेको छ।

वामीटक्सार बजारमा दिउँसोको समयमा स्वामीको रूखमुनीको चौपारी अब केवल विश्रामको ठाउँ होइन, बरु भक्ति,संस्कार र समुदायको एकताको केन्द्र बनेको छ।खैंजडी र मजुराको तालमा गुञ्जिने भजनले गाउँमा आध्यात्मिक शान्ति, सामाजिक सद्भाव र सांस्कृतिक पुनर्जागरण ल्याइरहेको छ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको