समाजसेवी खड्कबहादुर घर्ती मगरको निधन
युनिक खवर,वामीटक्सार✍️
मुसिकोट नगरपालिका–८ मालारानीका समाजसेवी,शिक्षाप्रेमी र संस्कृतिप्रेमी स्वर्गीय खड्कबहादुर घर्ती मगरको हिजो साँझ आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको छ।स्वर्गीय जसबहादुर घर्ती मगर र स्वर्गीय बलरूपा घर्ती मगरका सुपुत्र घर्ती ‘अचानक कलेजोमा समस्या देखिन पुग्यो र तत्काल उपचारको लागि परिवारको तर्फ देखि काठमान्डौं पुर्याईयो।समय फलिफाप भएन।दुखका साथ भन्नु पर्छ बुवा लाई उपचारले सुधार भएन’कान्छो छोरा चन्द्र घर्तीले युनिक खवर संगको कुराकानीमा बताऊनुभयो।
जीवनका १७ वर्ष ब्रिटिस आर्मीमा अनुशासित सेवा दिई सार्जन पदबाट अवकाश पाइसकेर पनि उहाँ समाजसेवा, शिक्षाको प्रवर्द्धन र जनकल्याणका कार्यमा निरन्तर सक्रिय रहनुभयो।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट बिभिन्न जिम्मेवारीमा रहॅदै आऊनुभएका स्वर्गिय घर्ती हाल लुम्बिनी प्रदेश सल्लाहकार सदस्यको रूपमा रही समाज,संगठन र देशप्रतिको निष्ठा कायम गर्दै आऊनुभएको थियो।
उहाँ केवल एक पार्टी नेता वा पूर्वसैनिक मात्र होइन, एक समर्पित पिता,संस्कृतीप्रेमी र समाजका अभिभावक पनि हुनुहुन्थ्यो।उहाँकी जीवनसाथी स्वर्गीय देउमाया घर्ती मगर हुनुहुन्थ्यो।उहाँका सन्तानहरू चुराबहादुर घर्ती मगर,चन्द्रबहादुर घर्ती मगर, होमकला छन्तेल,ममता श्रीस,बुद्धीमाया सारु र मुना भलामी त्यस्तै,ज्वाईंहरू बलबहादुर छन्तेल,तारा श्रीस,लाल बहादुर सारु,खिम भलामी का लागि उहाँ प्रेरणा,अनुशासन र स्नेहका प्रतिमूर्ति बन्नुभयो।नातिनातिनीहरू तथा सम्पूर्ण परिवारका लागि उहाँ ममतामयी हजुरबा र कर्तव्यनिष्ठ परिवार प्रमुखका रूपमा रहनुभयो।
स्थानीय समाजसेवीहरूले उहाँको योगदान स्मरण गर्दै भने,"उहाँको बाँच्ने तरिका नै एउटा प्रेरणा थियो देश,परिवार र समाजप्रतिको समर्पणका प्रतीक उहाँ हुनुहुन्थ्यो।”
स्वर्गीय घर्ती मगरको अन्त्येष्टि मुसिकोट–६ स्थित भुवाचिदी बजार नजिकैको ढोडेनी घाटमा शुक्रबार बिहान सम्पन्न गरिएको थियो।अन्त्येष्टिमा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा,शोमनाथ सापकोटा,जीवन खरेल,धर्म विश्वकर्मा,प्रकाश काफ्ले,हरीप्रसाद पोख्रेल,हरिहर सापकोटा,महेशबहादुर जीसी,रामचन्द्र श्रेष्ठ,अग्नीधर लोहनी,कृष्ण आचार्य,गोपीकृष्ण खरेल, रामबहादुर बोहोरा,नारायण सापकोटा,महेन्द्र घिमिरे,रामबहादुर थापा,सन्दीप खत्री, वामी सेवा समिति जापानका अध्यक्ष दिलीप थापा,झबिराम शर्मा,डम्बरबहादुर श्रीस,रमेश रसौली, बालकुमारी राकस्कोटी,पुस्तक छन्तेल,मुमबहादुर परियार,भागिरथ खरेल,बिमल छन्तेल,ज्ञानु सापकोटा,सन्तोष शाक्य,ओमबहादुर के सी,लक्ष्मण प्रसाद खराल,शुन्द प्रधान,बिष्णु राना,राजेश रायमाझी,क्याप्टेन पुर्णबहादुर घर्ती,लोकप्रसाद छन्तेल लगायत स्वर्गिय घर्तिका सयौं शुभेच्छुकहरूको उपस्थिती रहेको थियो।सागरमा श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन नेकपा (एमाले) मुसिकोट नगर कमिटीका सचिव रामकृष्ण कंडेलले गर्नुभएको थियो।
कार्यक्रमको सुरुमा स्वर्गीय घर्ती मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।उहाँको निधनले सम्पूर्ण मुसिकोट क्षेत्र शोकाकुल बनेको छ।परिवारका सदस्यदेखि राजनीतिक सहकर्मी र स्थानीयवासी सम्म सबैले उहाँको बिदाइले अपूरणीय क्षति पुगेको बताएका छन्।
सागरमा सहभागी नेकपा एमाले मुसिकोट नगर अध्यक्ष प्रकाश काफ्ले भावुक हुँदै भन्नुभयो "खड्गबहादुर घर्ती जस्तो इमान्दार,नम्र र दृढ व्यक्तित्व तथा नेकपा एमालेको अभिभावक यस समाजमा पाऊन दुर्लभ छ,उहाँको बिदाइले हामी सबैको हृदय रुँदैछ।”
उहाको १३औं दिनको पुण्यकर्म आगामी कात्तिक १८ गते मालारानीस्थित निवासमै सम्पन्न गरिने परिवारले जनाएको छ।परिवारले सो दिन उहाँका सबै इष्टमित्र,आफन्त,शुभचिन्तक,मलामीहरूलाई उपस्थित हुन हार्दिक आग्रह गरेको छ।
देश र समाज प्रतिको समर्पणको प्रतिकका रूपमा उहाँको जीवन सधैं स्मरणीय रहनेछ।हामी उहाँप्रति युनिक खवर डट कम परिवारको तर्फ देखि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गर्दछौं।"उहाँका अमर कर्म र सम्झनाहरू सधैं हाम्रो हृदयमा जीवित रहनेछन्।”