गुल्मीको ददल्कामा आगलागी: सत्यम परियारको बास जलेर पूरै नष्ट
युनिक खबर ददल्का बाट✍️
लक्ष्मी पूजाको साँझ,जहाँ देशभर दीपावलीको उज्यालो छरिएको थियो, त्यही बेला गुल्मी जिल्लाको मुसिकोट ९ ददल्कामा एक विनाशकारी आगलागीले स्थानीय सत्यम परियारको घर पूर्णरूपमा जलेर नष्ट बनाएको छ। तिहारको उत्सव एकैछिनमा शोक र पीडामा बदलिएको छ।
घटनाको समयमा घरमा ६ जना सदस्य रहेको छिमेकी शान्ति परियारले बताऊनुभयो।अचानक आगो दन्किएपछि परिवारका सबै सदस्यले ज्यान जोगाउन सफल भए पनि सम्पूर्ण घर र घरभित्रका सबै सामग्री जलेर खरानी भएको सरस्वती परियारले युनिक खवर संगको कुराकानीमा बताऊनुभयो।
स्थानीय बासिन्दा र छिमेकीहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको स्थानिय जिवन परियारले बताऊनुभयो। आगो निभाउने क्रममा घरधनी सत्यम परियारको खुट्टा र जीवन परियारको हात पोलिएको छ।
आगो लाग्ने कारण खुलेको छैन। यस घटनापछि सत्यम परियारको परिवार पूर्ण रूपमा बासबिहीन बनेको छ। चाडपर्वको बेला “अब सॅाझ के खाने?” भन्ने अवस्थामा सम्म पुगेको परिवारले राहत र सहयोगका लागि स्थानीय समुदायसँग सहयोगको अपेक्षा गरेको छ।
घटनास्थलमा वामी प्रहरी चौकीका प्रमुख वरिष्ठ सई प्रदीप कार्की,युनिक खबर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेल,वडा अध्यक्ष भुमा गुरुङ, वडा सदस्य बोमबहादुर खत्री तथा राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू खडक बहादुर खत्री र भानु खरेल लगायतको टोली पुगेको थियो। उपस्थित सबैको रोहबरमा प्रहरी मुचुल्का तयार गरिएको जनाइएको छ।
आगोलागी पश्चात ददल्का पुग्नुभएका युनिक खवर डट कमका प्रधान सम्पादक रामकृष्ण कंडेलले आगोलागिका कारण बासबिहिन अवस्थामा पुगेका सत्यमको परिवार लाई सानत्वना दिदै दुखको बेला नआतिन आग्रह गर्दै सबै मिलेर यो समस्या समाधान गर्ने प्रतिबध्दता ब्यक्त गर्नुभएको छ।