कोराना संक्रमणबाट कांग्रेसका नेता गोविन्द रञ्जितको मृत्यु
भाद्र ९, २०७७ | काठमाडौं
कोरोना भाइरसको संक्रमणका कारण नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना अस्पतालमा उपचारका क्रममा रञ्जितको आज दिउँसो मृत्यु भएको काठमाडौं जिल्ला सभापति सबुज बाँनियाले जानकारी दिनुभयो ।
उच्च रक्तचाप तथा मुटुका रोगी ६७ वर्षीय रञ्जितमा गत साउन २७ गते संक्रमण पुष्टि भएको थियो । उपचारका लागि साउन ३१ गते अस्पताल भर्ना भएका रञ्जितको ३२ गतेदेखि नै आईसीयूमा उपचार सुरु भएको थियो ।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि चार दिन अघि भेन्टिलेटरमा सारिएका रञ्जितको आज दिउँसो मृत्यु भएको हो । सभापति रञ्जितका छोरा र सम्धीमा पनि कोरोना पुष्टि भएपछि अस्पतालमा उपचार भइरहेको छ भने भतिजी सेल्फ आइसोलेशनमा छन् ।