गुल्मीमा लघुवित्तका ग्राहकहरूका लागि १ दिने पशुपालन तालिम सम्पन्न
सूर्योदय वोमी लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय गौडाकोट गुल्मीले आफ्ना ग्राहक सदस्यहरूका लागि एक दिने पशुपालन सम्बन्धी तालिम आयोजना गरेको छ। तालिम गुल्मिदरबार गाउँपालिका-३ मा सम्पन्न भएको हो, जसमा ८१ जना ग्राहक सदस्यहरूले सहभागिता जनाएका थिए।
तालिमको उद्देश्य किसानहरूलाई पशुपालनको आधुनिक विधि, रोग नियन्त्रण, आहार व्यवस्थापन, तथा व्यावसायिक रूपमै पशुपालन गर्ने प्रविधिहरू सिकाउनु रहेको शाखा प्रमुख अनिल सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार तालिमबाट किसानहरूलाई व्यावसायिक कृषिमा लाग्न हौसला मिल्ने र आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।
तालिम कार्यक्रममा गुल्मिदरबार गाउँपालिका-३ का वडाध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, कार्यक्रममा ,अनुगमन स्टेसन बलेटक्सार कार्यालयका अधिकृत विजय आचार्य ज्यू, तम्घास शाखा प्रमुख सर्मिला ज्यू लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
तालिमको प्रशिक्षण अनुभवी प्रशिक्षक उद्वव प्रसाद न्यौपाने ले दिनुभएको थियो। उहाँले पशुपालनका विविध पक्षहरू, नयाँ प्रविधिहरू, रोग रोकथाम तथा व्यवसायिक पशुपालनका तरिकाहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो।
सहभागी किसानहरू तालिमबाट व्यावहारिक ज्ञान प्राप्त गर्न सफल भएको बताउँदै यस्ता कार्यक्रमहरू भविष्यमै पनि निरन्तर आयोजना गर्नुपर्ने माग गरेका छन्।सुर्योदय लघुवित्त संस्थाले आगामी दिनमा थप व्यावसायिक सीपमूलक तालिमहरू संचालन गर्ने योजना बनाइरहेको समेत शाखा प्रमुखले बताउनुभएको छ।