चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेको छन:प्रधानमन्त्री
विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेको कुरा प्रधानमन्त्री के पी शर्मा ओलीले बताऊनु भएको छ।इन्द्रजात्रा पर्वका अवसरमा प्रधानमन्त्रीले दिनुभएको शुभकामनामा नेपालीहरु जातीय, धार्मिक र साँस्कृतिक विविधताका बीच एकतावद्ध रहेको सन्देश प्रवाह गरेको समेत उल्लेख गर्नु भएको छ।
इन्द्रजात्रा पर्वका अवसरमा प्रधानमन्त्रीले दिनुभएको शुभकामनाको पुर्ण पाठ:
काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्वहरु हाम्रा साँसकृतिक पूँजी हुन् ।
सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु छन् । ती सबै पर्वहरु हामीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी हुन् । विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका छन् । सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ । नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई हामीले यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएका छौं । र, नेपालीहरु जातीय, धार्मिक र साँस्कृतिक विविधताका बीच एकतावद्ध रहेको सन्देश प्रवाह गरेका छौं । सवल राष्ट्रिय एकताको यस साँस्कृतिक आधारशीला हाम्रा लागि गौरवको विषय हो ।
यतिबेला हामी मुलुकको आर्थिक विकास र समृद्धिको अभियानमा रहेकै समयमा विश्वब्यापी महामारी कोभिड– १९ सामना गरिरहेका छौं । यसले हाम्रो स्वास्थ्य र आर्थिक तथा सामाजिक जीवनमा अकल्पनीय दुष्प्रभाव पारेको छ । समृद्ध नेपाल–सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षामा यसले केही अवरोध गरेको छ । यस महामारीका दुष्प्रभावहरुलाई छिचोलेर सवल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न हामी अग्रसर छौं । महामारीबाट सुरक्षित हुँदै राष्ट्रको यस आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु ।
अन्त्यमा इन्द्रजात्रा पर्वको अवसरमा पुनः सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
केपी शर्मा ओली
१६ भदौ २०७७