नेकपा सचिवालयको बैठकले गरेको निर्णयहरु
नेकपा सचिवालयको बैठकले गरेको निर्णयहरु
काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक विवाद समाधानको खाका बनाउन ६ सदस्यीय कार्यदल गठन गरेको छ ।कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् ।त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक सुचारु हुने नेकपा स्रोतले जनाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आज विशेष गरी ७ वटा निर्णयहरु गरेको छ ।
सचिवालयको बैठकले गरेको निर्णयहरु
१. पार्टी र सरकार भित्र देखापरेको समस्याको समाधान र संकटलाई समाधान गर्ने गरी टुङ्गोमा पुर्याउने,
२. अध्यक्षद्वयद्वारा गठित कार्यदललाई सकारात्मक रुपमा लिँदै बैधानिकता दिएको वा कार्यदललाई अनुमोदन,
३. राष्ट्रका लागि पार्टी र सरकार सञ्चालनका सवालमा कार्यदलले दिएको सुझावालई प्रभावकारी ढंगले काम गर्न दृढताका साथ सहयोग गर्ने,
४. पार्टीको संकट निवारणको निम्ती दुई अध्यक्षले सहयोगको निम्ती कार्यदल गठन गर्नु उपयुक्त भएको र कार्यदलले दिएको सुझावसहित छिटोभन्दा छिटो समस्या समाधान गर्ने,
५. कार्यदलले दिएको सुझावलाई आधार मानि पार्टी एकताको महाधिवेशनमा जाने गरी तयारी गर्ने,
६. केही दिनभित्रमा नै समस्या समाधान हुने,
७. कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा आउनेछ ।
महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।