समानता तपाईंबाटै सुरू गरौं न!

कृष्णा लामिछाने ✍️

२०७६ साल माघ महिनाको अन्तिम हप्तातिर सुर्खेतमा अझै मज्जाको चिसो थियो। मलाई दुई चार दिनदेखि रातिमा निद्रा नपर्ने खानामा अरूचि हुने आलस्य हुने समस्या भएर अफिस छुट्टी लिएर घरमै आराम गरिरहेकी थिएँ। 

लगभग एक हप्ता हुँदा पनि स्वास्थ्यमा सुधार नआएको र महिनावारी पनि रोकिएको कारण प्रेग्नेन्सीको शंका लागेर श्रीमानलाई अफिसदेखि फर्कंदा प्रेग्नेन्सी टेस्ट किट लिएर आउन भनेर म्यासेज गरें। साझ उहाँले किट लिएर आउनु भयो। किटले मेरो शंकालाई सही सावित गरिदियो। श्रीमानलाई भनें। उहाँ एकदम खुसी हुनुभयो। यो हाम्रो पहिलो सन्तान थियो र हाम्रो रहर पनि। त्यति बेला मसँगै भएका नन्द र भान्जीलाई पनि जानकारी दिएँ। 

सबै जनामा खुसीको सीमाना नै थिएन। मेरो जिन्दगी बदलिएको थियो। स्वास्थ्यमा पनि समस्या देखिएको र गर्भावस्था एकदमै संवेदनशील अवस्था भएको कारण आफू कुनै पनि जोखिम लिन नचाहने भन्दै आजैदेखि घरका सम्पूर्ण काम घरका अन्य सदस्य र आफूले गर्ने गरी मेरो श्रीमानले मलाई आरामको जिम्मा दिनुभयो।

यसै पनि हामी घरको कामहरू मिलेर नै गर्ने गर्थ्यौं। महिला घर बाहिर निस्केर कमाउन र घर चलाउन सक्छ भने पुरूषले घरको काम गर्न किन नसक्ने भन्ने सोच उहाँको छ। त्यसपछिका मेरा दिनहरू भान्सामा सामान्य सहयोग र अफिस जाउआउ मै बितिरहेका थिए।

मेरो स्वास्थ्यमा सुधार नआएपछि हामी जाँचका लागि क्लिनिक गयौं। डाक्टरले मलाई प्रेग्नेन्सी अलि कम्प्लिकेटेड भएको कारण केही समय बेड रेस्टको सल्लाह दिनुभयो। म बेड रेस्टमै थिएँ। मेरो श्रीमान आफ्नो अफिससँगै मेरो केयरमा लगातार खटिइरहनुभएको थियो। 

कतिपयले मलाई भाग्यमानी श्रीमतीको दर्जा दिन्थे भने कतिपयले त उहाँलाई जोइटिङ्ग्रेको संज्ञा दिन पनि भ्याएछन्। तर मेरो श्रीमानलाई यी कुराले कत्ति पनि प्रभाव पारेका थिएनन्। उहाँको लागि यो उहाँको कर्तव्य र मप्रतिको प्रेम मात्र थियो। श्रीमानबाट त्यतिधेरै माया र केयर पाउँदा मेरो मन सायद हावामै उडिरहेको हुँदो हो। 

अझ घर वरिपरिका महिलाहरूले बुढो त भाग्यमै लेखेर आएकी रैछौ भनिदिँदा त संसारकै भाग्यमानी श्रीमतीको आभास हुन्थ्यो।
एक साँझ मेरो खुट्टा दुखिरहेकोले उहाँ मालिस गर्दै हुनुहुन्थ्यो। मैले उहाँलाई भनें  ‘खुट्टा नछुनुस् न पाप लाग्छ रे। मैले तपाईलाई कति धेरै दुःख दिएँ है। दिक्क लाग्दैन तपाईंलाई?’

उहाँले हाँस्दै भन्नुभयो, ‘यदि तिम्रो ठाउँमा म हुन्थें भने के तिमी मलाई यति केयर गर्दिन थियौ? मैले धेरै केही गरेको छैन। यो मैले गर्नैपर्ने काम हो। तिमी जत्तिको पढे लेखेको मान्छेबाट यो कुराको अपेक्षा थिएन।’

यति भनेर मेरो खुट्टा आफूतिर तानेर मालिस गर्न थाल्नुभयो।

उहाँको यो कुराले मलाई भने सोचमा डुबायो। हुन त सानैदेखि माइतीमा बुवा-आमाले बराबर काम गरेको देखेकी थिएँ। तर आमाको ढाड दुखेको छ भन्दै पछ्यौराले तातो इँट्टा बाँधेर हिँड्दा कहिले बुवाले म मालिस गर्दिन्छु भनेको सुनिनँ। 

चिसोले गर्दा आमाका हात पटपट फुटेर रगत चुहिँदा पनि आज भाँडा म माझिदिन्छु भनेर बुवाले भनेको कहिले सुनिनँ।

उल्टै बुवाले आफूले खाको थाल माझ्नु भो भने पनि आमा फुरूङ्ग पर्नु हुन्थ्यो।

हामी महिलाहरू पुरूषले गर्नैपर्ने काम गर्दा पनि कति फुरूङ्ग पर्दिन्छौं। श्रीमानले नुहाई सकेर बाथरूममा कपडा छोडिदिएनन् भने अथवा खाना खाएर आफैंले खाएको थाल धोइदिए भने अझ छोराछोरीको बाउले एकदिन आमा बिना बच्चा सम्हालेर बसे भने अथवा एक दिन बच्चाको दिसा पिसाब सफा गरिदिए भने मात्रै पनि हामी आफ्ना श्रीमान अलौकिक गुणयुक्त भएका र यस्ता श्रीमान पाउन अघिल्लो जन्ममा ठूलै धर्म गरेको हुन सक्ने भन्दै बखान गर्छौं।

अझ श्रीमती अलि लामो समय बिरामी परोस् र श्रीमानले उसको ख्याल राखेको होस् त्यो श्रीमान त भगवान नै मान्दिन्छौं। तर त्यही काम महिलाको लागि चाहिँ उसको कर्तव्यमा गनिन्छ।

घरमा कमाएर ल्याएरमात्र आफ्नो कर्तव्य पूरा भयो भन्ने सोच नेपाली समाजका सबै जसो श्रीमानहरूको रहेको छ। 

पैसाले मात्र घर चल्दैन भन्ने थाहा हुँदा हुँदै पुरूषले भान्छा नहेरे पनि पुग्ने, ढिला उठे पनि कसैले नकराउने, राति अबेरसम्म घरमा नआए पनि समाजले प्रश्न नगर्ने, छोराछोरी बिरामी हुँदा निद्रा पुग्दैन भन्दै अर्को कोठामा गएर सुते पनि बाउ हुनुको खोक्रो आडम्बर देखाउन नछाड्ने, घर आफन्तका बिहे, पूजा, श्राद्धजस्ता पारिवारिक जमघटमा श्रीमती गएर काम पनि गरिदिनु पर्ने अनि दिनभरि थाकेर घर फर्केर भान्छा सम्हाल्दिनै पर्ने। 

घरभरि मान्छे जम्मा पारेर उपरखुट्टी हालेर गफ हाँकेर बस्ने अनि १५/१५ मिनेटमा श्रीमतीसँग चिया माग्ने तर श्रीमती बिरामी पर्दा दिनभरिमा एक पटक एक गिलास तातो पानी नदिने मानसिकताका पुरूषको संख्या पनि कत्ति घटेको छैन।

कामकाजी महिलाका झन् पिडा बेग्लै छन्। बिहान हतार हतार उठ, घरको सरसफारइ, सासू-ससुरा नन्द-देवरलाई विस्तरामै चिया, छोराछोरीको होमवर्क, सबैका लागि खाना, त्यसपछि छोराछोरीको स्कुलको तयारी अनि ९ बजे उठेर शिव तान्डव बजाउँदै बाथरममा नुहाउन पसेको श्रीमानलाई अफिस जान हतार भएको जानकारी तेस्रो पटक दिँदै, खाना पस्कँदै, हतार हतार ४ गास खाएर अफिस पुग। 

दिनभरीको अफिसको लठारो अनि साँझ सँगै फर्केको श्रीमान साथीहरूसँग जमघट छ भन्दै हतार हतार बाहिर निस्कन्छ। महिलाको सुरू हुन्छ फेरि त्यही सुसे धन्दा।

एक दिन मेरो एक जना बहिनी मेरो घरमा आइन्। भर्खरै सुत्केरी भएकी उनी मलाइ फोन गरेर भेट्न चाहेको भनेपछि मैले नै उनलाई बोलाएकी थिएँ। पेशाले स्टाफ नर्स उनी यतिबेला सुत्केरी बिदामा थिइन्। उनको पहिलो सन्तान लगभग नौ दश वर्षको थियो। उनको अर्को जिल्लामा सरूवा भएको रहेछ। तर उनको श्रीमानले आफू जागिर सँगै ठूलो छोराको केयर गर्न नसक्ने भन्दै उनलाई जागिर छोड्न दबाब दिइरहेका रहेछन्। कि त दुवै बच्चा आफूसँगै लिएर जानुपर्ने कि त जागिर छोड्नु पर्ने भनाइ रहेछ उनको। तर त्यो दुवै बच्चालाई एक्लै केयर गरेर जागिर खान सक्ने अवस्था उनको थिएन। न त वर्षौंको मेहनत पछि खाएको जागिर नै छोड्न मन थियो उनलाई। त्यसपछि मैले उनलाई ठूलो छोरालाई श्रीमान कै जिम्मा लगाउन र कुनै पनि अवस्थामा जागिर नछाड्न सल्लाह दिए। उनी घर गइन्।

त्यसको लगभग १५ दिनपछि उनले मलाई फोन गरिन्। श्रीमानले कुनै पनि हालतमा बच्चाको रेखदेख नगरिदिने भएपछि उनले जागिर छोडिछन्। साह्रै नमज्जा लाग्यो। उनले कति सजिलै आफ्नो करियर त्याग गरिन्। आफ्ना छोराछोरी र परिवारका लागि आफ्नो भविष्य बलिदान गरिदिइन्। तर उनको श्रीमान आफ्नो 'कम्फर्ट जोन' बाट थोरै पनि बाहिर आउन चाहेनन्। म सम्झन्छु, उनलाई पढाउनको लागि उनका बुवा आमाले बेसीमा रहेको बाह्र रोपनी खेत बेचेका थिए। तर अन्तिममा उनको जिन्दगी पनि उनकी आमाको जसरी नै श्रीमानलाई चिया पकाएर र छोरा-छोरीको कपडा धोएर नै बित्ने भयो। 

उनले ठूलो योगदान गरेकी थिइन् तर उनको श्रीमान र परिवारका लागि भने यो उनले उनको सन्तानका लागि पूरा गर्नैपर्ने एउटा कर्तव्यमात्र थियो।

यो एउटा उदाहरण मात्र हो। आखिर छोरीलाई स्कुल पठाउँदैमा, पढाउँदैमा मात्र पनि त असमानता कम नहुने रैछ। यो त एउटा पुरातनवादी सोचमात्र हो। जबसम्म महिलालाई आफ्नो भविष्यको बारेमा आफैंले मात्र निर्णय गर्ने अधिकार हुँदैन अथवा जबसम्म उसको निर्णयमा अरू कसैको हस्तक्षेप रहिरहन्छ तबसम्म समानता असम्भव जस्तै छ।

तपाईंको घर सम्हाल्न, छोराछोरीको रेखदेख गर्न हुर्काउन, बढाउन, पढाउन, तपाईंका बुढा बुवा आमाको ख्याल गर्न कै लागि आफ्नै भविष्य, करियर, बौद्धिक क्षमतालाई तिलान्जली दिने महिला पनि कति छन्। तपाईं यो नसोच्नुस् कि श्रीमती केही क्षमता नभएर र बाहिर निस्कन नसकेर घरमा बसेका हुन्।

आखिर ठूलो अपेक्षा पनि त हुँदैन महिलाको। घरमा कुनै दिन पालो दिनु, कहिलेकाहीँ छिटो उठेर चिया बनाउनु, हातगोडा ढाड दुखेको छ भन्दा सके मालिस गरिदिनु, नसके आराम गर भनिदिनु, सधैं फुर्सद हुनासाथ साथीभाइसँग दौडिनुको साटो केही समय श्रीमती र छोराछोरीलाई दिनु। तपाईंको घरलाई आफ्नो घर बनाएकी तपाईंकी श्रीमतीको तपाईंको घरमा सबभन्दा नजिकको साथी भनेको तपाईं नै त हो। त्यसैले कसैले नसुन्ने गरी आफ्ना दु:ख पोख्न सक्ने अनि आँसु झारेर चर्को स्वर गरेर रूँन पनि सक्ने उसको असल साथी बन्ने कोसिस तपाईं किन गर्नुहुन्न?

घर बाहिर निस्केर महिला सशक्तिकरण, समानता र समताका नारा लगाउँदै घोक्रो सुकाउने हामी महिला पनि आफ्नै घर र घर वरपर घटिरहेका यस्ता घटनाक्रमलाई नजर अन्दाज गर्छौं। 

अझ आफ्ना छोरा नातिलाई तिमीले कुचो समाउन हुँदैन, भाँडा माझ्नु हुँदैन भन्दै दिव्य ज्ञान दिन्छौं। आफ्नो छोराले बुहारीलाई भान्छामा एकैछिन सहयोग गरिदेओस् त्यो छोरा बुहारीको गुलाम हुन्छ। ऊ खराब छोरामा गनिन्छ।

हामी समानता बसको सिटमा खोज्छौ, बैंकको चेक साट्ने लाइनमा खोज्छौं तर आफ्नो घरमा खोज्दैनौं, आफ्नो दाइभाइसँग खोज्दैनौं, बुवासँग खोज्दैनौं, श्रीमानसँग खोज्दैनौं, छोरासँग खोज्दैनौं।

हरेक समाजले महिला र पुरूषको लागि बेग्ला बेग्लै मान्यता, भूमिका, उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ। 

भर्खरै जन्मेको शिशुलाई उसको लिंगको  आधारमा पुरूष र महिलामा परिवर्तन गर्न सामाजिक र सांस्कृतिक प्रक्रिया सुरू हुन्छ। त्यो शिशुको सामाजिकीकरण जस्तो समाज छ त्यसैले चाहे अनुसारको हुन्छ। 

सामाजिकीकरण स्वाभाविक प्रक्रिया हो, किनकी प्रत्येक समाजमा त्यहाँ स्थापित चालचलन रितिरिवाजलाई स्वभावैले अनुशरण गरिन्छ तर सवाल के हो भने त्यो समाज कति सभ्य छ, त्यहाँ विभेदहरू छन् कि छैनन्, त्यसका मूल्य मान्यता न्यायसंगत छन् वा छैनन्, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ। 

जस्तैः अत्यन्तै रूढीग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मँदै ऊ रूढीवादी बनेर जन्मेको हुँदैन। सामाजिकीकरण हुनु आफैंमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।