भारतीय एसएसबीको ज्यादती : तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकालीमा बगे

दार्कोचुलाको व्याँस गाउँपालिका–२, राप्ला खानदानका ३३ वर्षीय जयसिंह धामी वैदेशिक रोजगारीको तयारीका लागि शुक्रवार बिहान घर परिवारबाट बिदा भएर निस्किए । 

कोरोना महामारीका कारण एक वर्षअघि नेपालमा लकडाउन जारी भएकै अवस्थामा दुबईबाट उनी घर फर्किएका थिए । लामो लकडाउन र बेरोजगारीले घरपरिवारमा आर्थिक समस्या पर्न थालेपछि उनी पुनः वैदेशिक रोजगारीको तयारीका लागि घरबाट निस्किएका हुन् ।

व्याँस गाउँपालिका–२ का स्थानीयको विवशता भनौं या बाध्यता उनीहरूले सदरमुकाम खलंगा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

केही दिनको तयारीपछि जयसिंह धामीसहितका केही स्थानीय युवा महाकाली नदी पारिको भारतीय बाटो प्रयोग गर्न शुक्रवार बिहान महाकाली नदीमा रहेको तुइन चढ्न पुगेका थिए । 

उनका केही साथीहरू तुइन चढेर नदी पार गरे । उनको पालो आयो । उनी पनि तुइनमा बसे । तर, जब उनी नदीको बीचमा पुगे, तब भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि नदीमा खसे र महाकालीको तेज धारमा बेपत्ता भएको उनका दाइ नरेन्द्रसिंह धामीले दुखेसो सुनाए ।

‘हामी निकै पीडित छौँ । आफ्नै जिल्ला सदरमुकाम जान हामीले भारतीय बाटो भएर जानुपर्छ,’ उनले भने, ‘बर्खा र हिउँदमा हामीले तुइन चढेर पारि रहेको भारतको उत्तराखण्डको धार्चुला जानुपर्छ । त्यसपछि पुनः गाडी चढेर सदरमुकाम खलंगा जानुपर्ने हुन्छ । आज जयसिंह त्यही बाध्यताको शिकार भए ।’ 

लकडाउनपछि दुबईबाट घर फर्किएका जयसिंह पुनः भिसाको तयारीमा काठमाडौं जान्छु भनेर घरबाट निस्किएका थिए । तर, भारतीय एसएसबीले बिहान ९ बजेतिर उनी चढेको तुइन काटिदिएपछि बेपत्ता भएको नरेन्द्रसिंह बताउँछन् । 

एसएसबीको यो गैरमानवीय हर्कत भने नयाँ नभएको स्थानीयवासी दुखेसो सुनाउँछन् । चार दिनअघि पनि भारतीय एसएसबीले खलंगाबाट फर्किने क्रममा निकै धम्क्याएको नरेन्द्रसिंह बताउँछन् । 

महाकाली नदीमा बेपत्ता भएका जयसिंहको खोजी कार्य भइरहेकाे दार्चुला प्रहरीले जनाएको छ । ‘स्थानीयका अनुसार एसएसबीले तुइन काटेको भन्ने छ, तर ठ्याक्कै के भएको हो अनुसन्धान जारी छ,’ दार्चुला प्रहरी प्रवक्ता नरेन्द्रबहादुर चन्दले भने, ‘चार जना तुइन चढेर पारि पुगेछन्, पाँचौं व्यक्ति जयसिंह महाकाली नदीमा बेपत्ता भएका हुन् ।’

प्रशासनमा उजुरी

भारतीय एसएसबीको गैरमानवीय कार्यले धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित भएका छन् । उनीहरू सत्यतथ्य छानबिनको माग गरी घटनामा संलग्न एसएसबीलाई कारबाही हुनुपर्ने मागसमेत गरेका छन् ।

व्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेन्द्र बुढाथोकीका अनुसार पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरीसमेत दिएका छन् ।

दार्चुला जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले पीडित परिवारको उजुरी आएपछि पिथौरागढ जिल्लाका डीएम (जिल्ला प्रमुख) लाई छानबिनका लागि पत्राचार गरी गृह मन्त्रालयलाई बोधार्थ पत्र पठाएको जानकारी दिइन् ।

नेपालतर्फ सडक नहुँदा व्याँस क्षेत्रका स्थानीयवासी दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता छ । 

सरकारको तुइनमुक्त कार्यक्रम अलपत्र भएपछि हालसम्म व्यासका नागरिकहरू खाद्यान्न, औषधि र आवतजावत तुइनमार्फत गर्नुपर्ने बाध्यता छ । 

बेपत्ता भएका धामीका श्रीमती, एक छोरा र एक छोरी छन् । 

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको