ऐजन–ऐजन जिन्दगी  !

आज म भन्छु— बाँच्नेहरू नै भाग्यमानी हुन् । आज म बाँचेकै छु र न यो संसार छ । यो समाज छ, यो सांसारिक मायामोह छ । त्यही भएर म तपाईंलाई यसरी पत्र लेखिरहेको छु । ओहो, म कति भाग्यमानी ! मरेपछि त सबै–सबै सकियो, सारा कुरा शून्यमा शून्य बिलाइहाल्छ नि ।

अनन्य मित्र हिरण्य भोजपुरेजी,

गोधूलि साँझको समय, बाहिर मधुरो सिरसिर बतास चल्दै छ । म कोठामै छु । झ्यालछेउमा मेरो लेख्ने सानो टेबल, कुर्सी छ, जहाँ बस्दा अगाडि देखिन्छ— हरियो मुना पाउलिएको चियाबारी ! यी चियाका बुटा, जसलाई मैले आफ्नै हातले रोपेको २२ वर्ष भइसकेको छ ।

लेख्ने समय मलाई यस्तै अगाडि देखिने हरियो रूखपात, चराचुरुङ्गी, मिहिन स्वर निकालेर बहिरहने खोल्सो अथवा आनन्दमयी आकाश होस् भन्ने लाग्छ । अहिले यस्तै संयोग जुरेको छ । भोजपुरेजी, आज जीवनमा पहिलो पत्र लेख्दै छु तपाईंका नाममा ! त्यसै–त्यसै कस्तो–कस्तो लागिरहेको छ । मन अधैर्य भएको छ । किन एक्कासि यस्तो भयो, थाहा छैन । एकपटक पछाडि फर्केर हेर्छु, आधा शताब्दीभन्दा लामो यात्रा पो पार गरिसकेछ हाम्रो मित्रताले, अनि हाम्रो लेकालीले । आधा शताब्दी पार गर्नु भनेको उमेर र समयका हिसाबमा चानचुने होइन । सम्झन्छु— कति अग्रजहरू बँचेको उमेर नै भइसकेछ, हाम्रो अभिन्न मित्रताको सहयात्रा ।

मित्र भोजपुरेजी,

तपाईं हरेक कुरामा मभन्दा माथि नै हुनुहुन्छ— उमेर, अनुभव, अध्ययन, विद्या, बुद्धि र क्षमता सबैतिर अब्बल । तपाईं उमेरले दाजु भए पनि कहिल्यै ‘दाजु’ भन्न मुखै लागेन । हो, तपाईंकी जीवनसंगिनीलाई पनि भाउजू भन्न मन लागेन, उर्मिला दिदी सम्बोधन गर्दैमा बढी आत्मीय लाग्छ । तैपनि ए मित्र, तपाईं मभन्दा सबै कुरामा माथि भए पनि एउटै कुरामा तल हुनुहुन्छ अथवा मलाई जित्न सक्नुहुन्न । त्यो हो— मैले झेलेको शृंखलाबद्ध पारिवारिक दुर्घटनाहरू । भन्छन्— भाग्यमानी मानिसहरू चाँडै परलोक जान्छन्, त्यसोभए के हामी जे–जति बाँचेका छौं, ती सबै अभागी हौं त ?

यसरी भोजपुरेजी, मलाई यो समाजसँग प्रश्न गर्न मन लाग्छ । मलाई थाहा छ, यसको उत्तर छैन । तर, आज म भन्छु— बाँच्नेहरू नै भाग्यमानी हुन् । आज म बाँचेकै छु र न यो संसार छ । यो समाज छ, यो सांसारिक मायामोह छ । त्यही भएर म तपाईंलाई यसरी पत्र लेखिरहेको छु । ओहो, म कति भाग्यमानी ! मरेपछि त सबै–सबै सकियो, सारा कुरा शून्यमा शून्य बिलाइहाल्छ नि ।

संसारमा मभन्दा पनि बढी पारिवारिक दुर्घटना सहनेहरू छन् । तर, हाम्रो सम्बन्धमा म भने पहिलो नम्बरमै रहिरहन पाऊँ । यो दुर्घटनाको शृङ्खलामा अबउप्रान्त मेरा आफन्त, नरनाता, साथीभाइ, छिमेकी कसैले मलाई नजितून— कामना छ ।

अभिन्न मित्र,

यी तपसिलको कुराबाहेक तपाईंले मलाई सधैं जितेकै हो, जित्नैपर्छ । सायद अर्को कुरामा पनि म तपाईंलाई फेरि जित्छु होला । तर, अहिले भन्दिनँ । सायद त्यो ढिलोचाँडो समयले बताउनेछ ।

गजबै लाग्छ– यो कस्तो सम्बन्ध हो, हामी दुईबीचको । नजिकभन्दा नजिक पनि होइन, टाढाटाढा पनि छैनौं । दुई सरल रेखाजस्तो ! नदीको दुई किनारजस्तो, जसले नदीलाई जोडेको छ । एकअर्कामा सधैं आदर र सम्मानको समभाव छँदैछ । हामीले कहिल्यै चर्को दोहोरो संवाद गरेर दाँत बजाउनुपरेन । कम्तीमा मलाई त्यस्तो खराब क्षणको सम्झना छैन ।

तर, आज यति भनिहालौं, मित्र शशि भण्डारी (हाल स्वर्गीय) ले तपाईंलाई ‘तँ’ भनेको मैले कहिल्यै रुचाइनँ । तपाईंलाई हेपेजस्तो लाग्ने, जुन मेरो आत्माले स्विकारेन । धेरै कुरामा शशि भण्डारी मेरो सहयोगी भए पनि उनले तपाईंलाई ‘तँ’ भनेको मैले कहिल्यै पचाउन, रुचाउन सकिनँ । अहिले तपाईंहरू दुवै जना सम्धी–सम्धी भइसक्नुभयो । बिचरा शशि बितेको पनि वर्षौं भयो । मेले उनको बारेमा ‘छपक्कै मनमा बसेकाहरू’ मा लेखेको छु । आखिर बाँच्नेहरूले जानेहरूलाई सम्झेर गर्ने यति नै त रहेछ ।

अतिप्रिय भोजपुरेजी,

यसरी शशिको सम्झनासँगै लेकाली स्थापनाकाल सम्झिरहेको छु । जतिबेला हामी दुवै जना लोर्के तन्नेरी थियौं । तपाईंलाई विशेष ठट्टा गर्न मन लाग्ने, रमाइलो र इत्रिन अनि मन फुकाएर धेरै हाँस्न मन पराउने । त्यसैले होला तपाईंको स्वास्थ्य राम्रो पनि छ । तपाईंको अट्टहास हाँसो सम्झेर र त्यसको विवेचना गरेर ‘भोजपुरेको हाँसो’ शीर्षकमा ‘कान्तिपुर’, कोसेली (२०६०, असार २८) मा एउटा मनोबाद लेखेको छु । भोजपुरेले ‘म अट्टहास हाँस्छु, अनि हाँस्दा हाँस्दै आँसु झार्छु ता कि अरूले म रोएको थाहा नपाऊन्’ भनेर मलाई सम्झाइबुझाइ गर्ने गरेको क्षण म अहिले सम्झिरहेको छु । मैले त्यही बेला भोजपुरेबारे लेखेको रहेछु, ‘मेरा लागि भोजपुरे अवगुणभन्दा धेरै गुण भएका असल मित्र ! जीवनमा असलसँग मात्र संगत होस् भनिन्छ, तर बाँच्ने क्रममा झुरपटास र खल्तीखलाँसको पनि संगत गर्नुपर्ने रहेछ । कतिसँग थाहै नपाई गरिन्छ, कतिसँगै थाहा पाएरै पनि गरिन्छ । थाहा पाईपाई बैगुनीको संगत गर्नु पनि अवगुणै हो । स्वार्थको टाँगोमा बल्छी झुन्ड्याएर आउनेहरू समयको बाटा हुँदै पाखा लाग्छन् । तर, बाढीले कटान गर्ने किनाराका डोबहरू मन र मस्तिष्कमा सधैं रहिरहन्छन् । भोजपुरे पनि यस्ता दुर्घटनाका जाँतोमा मकैको घान भएर धेरैपटक पिसिएका छन् ।’

भोजपुरेजी, तपाईंलाई सम्झना छ कि छैन, मलाई राम्रो सम्झना छ । हामी दुबै अविवाहित थियौं त्योबेला र, निकै पपुलर थियौं—गानाबजानाका कारण । यो २५ सालताकाको कुरा हुनुपर्छ । एक पटक कमलादी एकेडेमीको उत्तरपट्टिको सडकमा तपाईं र म हिँड्दै थियौं– विपरीत दिशाबाट दुइटी तरुनी गोरी केटी हामी भएतिर आउँदै गरेको परैबाट देख्यौं । ती आफ्नै धुनमा थिए । छेउमा आइपुग्नासाथ बढो ठट्यौली पाराले तपाईंले उनीहरूलाई हेर्दै भन्नुभयो– ‘हाई’ ।

ती दुवै केटी टक्क अडिए र, हामी दुवैलाई आँखा तरेर नेवारी शब्दमा यस्तो भद्दा गाली दिए– ‘माम पा...!’

अब परेन फसाद ? हामी दुवै अक्क न बक्क ! मुखामुख गर्नुबाहेक अरू कुरा दिमागमै आएन । पहिला त विश्वासै लागेन । दिमागले पनि काम गरेन, पछि झल्याँस्स भइयो । तब लाजले भुतुक्कै भइयो । धन्य, यताउति हेरेको देख्ने, सुन्ने कोही थिएनन् साक्षी–प्रमाण । अब के गर्ने ? छेडछाडेमा दर्ता भइहालियो, तब लाज पचाएर दुवै जना बौलाहा जस्तै हाँस्दै हिँड्न थाल्यौं, बाटामा हा...हा... ।

हाँस्दै–हाँस्दै तपाईं केहीछिनमा रोकिनुभयो । अनि, कहाँ पुगे होलान् भनेर ती ठिटीलाई हेर्न थाल्नुभयो । मैले पनि तपाईंकै सारमा सार मिलाएर हेरेँ । तिनीहरू निकै पर पुगेर मास्तिर गल्लीतिर लागे । तब तपाईं आफ्नै पाराले मलाई हेर्दै भन्नुभयो– ‘कस्ती उत्ताउली नखरमाउली गोरीहरू पो रहेछन्, खुत्रुक्कै पारे नि, बोल्ने ठाउँ नै दिएनन् मोरीहरूले हा...हा... !’

अनि हामी फेरि हाँस्यौं, आफू उत्ताउलो भएको बिर्सिएर हाँस्यौं । धक फुकाएरै हाँस्यौं, आफ्नो बेइज्जत हुँदा आफैं हाँस्यौं ।

पछि थाहा भयो– ती गोरिनी ठिटीहरू त रोयल होटलका मालिक र रुसमा कम्युनिस्ट शासन लागू भएपछि त्यहाँका जार राजपरिवारमध्ये पलायन भएर नेपालमा शरण लिएका जारशाहीको अन्तिम वंश बोरिस लिसानोभिचका नातिनीहरू पो रहेछन् । जो चार पुस्तादेखि नेपाली भएर यहीँको रैथाने भइसकेका र नेपाली ठिटाहरूको मानसिक रितथिती बुझिसकेका परेछन् । मारेन त अब ! तैपनि, अहिले सम्झँदा मज्जा लाग्छ, रमाइलो मानेर पुराना दिनहरू सम्झँदै हामी फेरि हाँस्यौं ।

जिग्री भोजपुरेजी,

अब देशको हालखबर लेख्छु, तपाईं त सपरिवार अमेरिका पुगिहाल्नुभयो । हामी भने नेपालमै चियाबारीतिर हराइरह्यौं । यो बीच कोरोनाको कहरले साह्रै सिकिस्त पार्यो, एक प्रकारले यो जीवनमै नाकाबन्दी लागेसरह भयो । चारैतिर आउन–जान नाकाबन्दी, पूरै कर्फ्युसरह ! काठमाडौंबाट हामी फिक्कल घर आउँदा पनि सीडीओको पास लिएर गाडी रिजर्व गरेर आउनुपर्‍यो । ओहो, कस्तो समय आयो आयो । आफ्नै देशमा एक ठाउँबाट अर्को ठाउँ जान पनि पास चाहिने । एकतन्त्रीय राणा शासनकालमा या कर्फ्यु लागेको बेला यस्तो हुने गरेको भनेर सुनेको थियौं । आजै आफैंले भोगियो ।

देशको दक्षिणी भारतीय सिमानामा हजारौं नेपाली थुप्रिएका छन्, जसलाई देशभित्र आउने अधिकार छैन । थाङ्नाभोटा कुम्लोकुटुरो बोकेका बूढाबूढी, केटाकेटी, तरुणतन्नेरीको हरिबिजोग छ । फेसबुक, युट्युबमा कोही दिल्लीबाट, कोही बम्बईबाट, कोही पन्जाबबाट, कोही लखनउबाट पैदल हिँडेर आएको भन्दै छन् । कोही बाटैमा मरे, कोही बिरामी परेर बाटैमा छाडिए । महामारीको यस्तो त्रासदीपूर्ण कथा दोस्रो विश्वयुद्धमा बर्माबाट भागेर आएका नेपालीहरूको गाथाजस्तै लाग्यो ।

हामी नेपाली कस्तो कर्म लिएर आएछौं भोजपुरेजी, आज देश सम्झेर आउनेलाई देशले रोकिरहेको छ ? मेरो चित्त त्यतिबेला काटियो, जतिबेला एउटा युवा ज्यानको माया मारेर महाकाली नदीमा हाम फालेर वारि देशको माटो टेक्यो । ऊ मात्र कट्टु वस्त्रमा थियो, माथि सर्वांग थियो । आफ्नो माटो छुन हत्ते हालेर आइरहेको त्यो व्यक्तिलाई हाम्रा देशका रक्षकहरूले घोक्र्याउँदै–मुन्ट्याउँदै–लत्याउँदै थिए, जुन दृश्य युट्युबमा भाइरल भयो । हेरेँ, साह्रै दिक्क लाग्यो । तब मलाई मन थाम्न गाह्रो भयो र अघिल्लो दिन कविता लेखौं भनेर लेखेको कविता साफी गरिसकेर पढ्दै थिएँ । कस्तो संयोग मेसेन्जरको घन्टी बज्यो, यसो हेरेको तपाईंको रहेछ— सोचेँ, अहिले अमेरिकामा बेलुकाको ८ बज्दै होला, पक्कै मुडमा हुनुहुन्छ । तपाईं, नत्र हम्मेसी फोन गर्ने मान्छे त होइन नै ।

मैले फोन उठाएँ, यस्तै भलाकुसारीका कुरा भए, थप मेरो शंकालाई पुष्ट्याइँ गर्नुभयो, ‘मेरो त साँझको दुई त गइसक्यो अब तीन पो चढ्दै छ त हा... हा... !’

दुई–तीन गएर होस् वा नगएर, तपाईंको यो ठट्टा मलाई मन पर्छ । किनभने म वर्षौंदेखि परिचित छु, रमाइलो लाग्छ ।

उता तपाईं सोमरसले मातेको यता म कवि भावनाले मातेको ! कसलाई सुनाऊँ यो कविता भनेर दह्रो श्रोताको खोजीमा थिएँ । तपाईं सोमरसमा झुमेको बेला कविताको रसपान, आहा योभन्दा उत्तम समय के हुन सक्छ ? मैले मुखै फोरेर अनुरोध गरेँ— ‘तपाईंलाई कविता सुन्ने मुड छ कि छैन, मलाई सुनाउने मुड चल्यो ।’ भनेँ– ‘हिजो मात्र लेखेको कविता छ भर्खरै साफी गरिसकेँ, सुनाउँछु ल ।’ ‘ओ, स्योर स्योर, किन नसुन्ने त तपाईंको कविता सुनाउनुहोस्, सुन्छु ।’ अनि मैले भूमिका नबाँधी भटाभटी सुनाउन थालेँ कविता शीर्षक थियो–

लकडाउन :

‘अँगालो मारेर सपनाहरू

भन ए ! भन,

कहाँकहाँ पुर्‍याउँदै छस् यो जिन्दगी

अब त गाह्रो भो गाह्रै भो

साह्रैसाह्रै गाह्रो भो

मान्छे भएर बाँच्नु यो जिन्दगी

कहाँ झर्दो रहेछ मधेश

यो हिउँ र तुसारो,

कहाँ चढ्दो रहेछ र हिमाल

यो मृग र मयूर

कहाँ फुल्दो रहेछ मरुभूमिमा गुराँस

कहाँ पौडिरहेछ समुद्रमा डाँफे

देखाउँदै–डुलाउँदै सुन्दर सृष्टि

नाघेर आफ्नै साँध र सिमाना...

भन ए ! भन

कहाँ भड्काउँदै छस् यो जिन्दगी

अब त कठिन भो कठिन भो

साह्रै साह्रै कठिन भो

मान्छे भएर बाँच्नु यो जिन्दगी 

भन्थिस् बाँच्नलाई चाहिन्छ आफ्नै माटो

सास फेर्न आफ्नै हावा

पिउनलाई आफ्नै पँधेरो

पहिचानसँगै चाहिन्छ देश

समानता र समावेशी अनुहार

रगतले खोज्यौं देश

पसिनाले भिज्यो माटो

रचिस् आफ्नै संसार

देखाउँदै डोर्‍याउँदै हिँड्ने बाटो

भन ए ! भन–

कहाँ कहाँ खटाउँदै छस् यो जिन्दगी

अब त सकस भो, सकसै भो

साह्रै साह्रै सकसै भो

आफ्नै सिमानाले छेक्यो जिन्दगी

सास फेर्न गाह्रो भो जिन्दगी

मेरो कवितावाचन सकियो, तपाईंको प्रतिक्रिया के आउँछ भनेर म सुन्न साह्रै उत्सुक थिएँ ।

उताबाट तपाईं बोल्नुभयो, ‘तपाईंको कविताबारेमा राम्रो/नराम्रो कुनै कमेन्ट गर्दिनँ । यतिचाहिँ म ठोकेर भन्छु, ‘अस्ति नेपालयमा भएको लेकालीको पलेटीमा पनि मैले सार्वजनिक रूपमा भनिसके– उर्मिला (श्रेष्ठ) र रसिक नभएको भए न म हुन्थेँ, न त लेकाली नै हुन्थ्यो, तपाईं मान्नुहोस् या नमान्नुहोस्, हा... हा... ।’

तपाईंको कुरा सुनेर एकछिन त म स्तब्ध भएँ, कारण मैले के–केन लेखेँ भनेर सुनाएको कवितालाई तपाईंले ‘बाल’ दिनुभयो अथवा मेरो संवेदनाले पटक्कै छोएन । तब मलाई पूरा विश्वास भयो, तपाईं अर्कै मुडमा हुनुहुन्छ । मैले जबर्जस्ती कविता सुनाएर यातना दिएछुँ । म आफैंलाई पछुतो पनि लाग्यो, बेला न कुबेला कविता सुनाएँ भनेर ।

अब मैले तपाईंको कुरामा सारमा सार मिलाउनैपर्‍यो, मनमा लागेका कुरा जसरी तसरी मैले पनि बोल्नैपर्ने भयो— ‘त्यसो होइन भोजपुरेजी, म पनि तपाईंहरू नभइदिएको भए कहाँ हुने थिएँ र यो ठाउँमा ? भनौं न हामी ऐजन ऐजन । ढुंगाको भर माटो, माटाको भर ढुंगा । हामी नभएको भए लेकाली हुने थिएन र, लेकाली नभएको भए हामी हुने थिएनौ । ऐजन–ऐजन ।’

मान्छे भएर बाँच्न गाह्रो जिन्दगी ।’

तपाईंसँग झन्डै आधा जति कुरा भए बीचमा उर्मिला दिदीसँग पनि कुरा भयो । अन्तिममा तपाईंले भन्नुभयो— ‘अब नेपाल आएपछि तपाईं फिक्कलको घरैछेउमा दुई रोपनी जग्गा दिनोस् । जति परोस्, म तिर्न तयार छु, केही छैन । त्यहीँ घर बनाएर बस्छु, तपाईंहरूसँगै नयाँ नयाँ गीत सृजना गरौंला विगत दिनहरूजस्तै । गाउँला, खाउँला, नाचौंला । बाँकी जीवन आनन्दसँगै बाँचौंला, रमाउँला । जग्गाचाहिँ दिन्न भन्न पाइन्न है । हामी दुवैको परिवारसहित फिक्कल जाउँला तपाईंको घरमा बसौंला । सँगै फर्किउँला, नाइँ भन्नुचाहिँ पटक्कै पाउनुहुन्न है रसिकजी ।’

त्योबेला म तपाईंको कुरा सुनेर मख्खै परेको थिएँ । साँच्चै, त्यस्तो भए कस्तो हुने थियो ? शायद हाम्रो बैंसका लेकाली दिनहरू फर्किने थिए होलान् । जीवनले एउटा नयाँ यात्रा सुरु गर्ने थियो होला । जीवनको यो उत्तरार्द्ध पनि पूर्वार्द्धझैं हुने थियो होला ।

तपाईंले फेरि कुरा थप्नुभयो, ‘आजभोलि बच्चुकैलाश दाइ पनि हामी सँगैको धापाखेल एपार्टमेन्टमा नै सपरिवार बस्न आउनुभएको छ, भाटभटेनीको घर छाडेर । कति रमाइलो हुने थियो, हामी पनि अहिले नेपालै भएको भए । तर, ख्वै के गर्नु ! अस्ति नै टिकट काटेर ठिक्क पारेको, यो कोरोनाले रोकियो अब कहिले हो कहिले... आउन चाहेर पनि पाइएन...!’ तपाईंका यी भनाइमा मैले एउटा गहिरो पीडाको बुझें । आफ्नै मातृभूमि फर्किन्छु भन्दा पनि नपाएको पीडा !

हुन पनि भोजपुरेजी, कोरोनाले देश समाज, नरनाता कुटुम्ब, इष्टमित्र र मानवी सम्बन्धहरू सबै भत्काइदिएको छ । मान्छे सबै सबै स्वार्थी भएका छन् । पराई त पराई भइहाले, आफ्नैहरू पनि पराई व्यवहार गर्न थालेका छन् । मान्छेदेखि मान्छे नै भाग्नुपर्ने ! कस्तो भयावह समय आयो, लास उठाउनसमेत इष्टमित्र कोही आउँदैनन् । छोराले बाबुको लास छुन डराउँछ, पतिले पत्नीको । जति सम्झियो, उति उकुसमुकुस हुन्छ, छटपटी हुन्छ ।

आज दिउँसो बैठक कोठाभित्रै थिएँ । श्रीमती पूर्वपट्टिको सोफामा, म पश्चिमपट्टिको सोफामा । ढल्कँदै मोबाइल हेर्दै थियौं दुवै जना । मलाई बिहान तपाईंसँग भएको कुराको सम्झना भयो । श्रीमतीलाई नसुनाई सकिनँ, किनभने यो त निकै नै खुसीको कुरा थियो मेरा लागि ।

अरे ! ममी सुन त ।

श्रीमती मोबाइलबाट आँखा हटाएर मतिर हेरिन् र मैले भनेँ, ‘आज बिहानै भोजपुरेजीले अमेरिकाबाट फोन गर्नुभएको थियो । भन्दै हुनुहुन्थ्यो— फिक्कलमा दुई रोपनी जग्गा दिनोस् । हामी तपाईंको छेउमा नै घर बनाएर बस्छौं । आहा ! कति रमाइलो हुन्छ होला त्यो समय ।’

मेरो कुरा सुनेर मेरी श्रीमतीले के भनिन् थाहा छ, भोजपुरेजी ? ‘तपाईंहरू कवि–लेखक कति भावनामा उड्नुहुन्छ है ? नचाहिंदो भावना । अहँ, मलाई त विश्वास लाग्दैन भोजपुरे दाइको कुरामा । आफ्ना सारा छोराबुहारी, नातिनातिनी, छोरीज्वाइँ सबै परिवार उतै अमेरिकामै छन् । होइन उहाँ किन आउनुहुन्छ, यी सब छोडेर ? फेरि यो उमेरमा । यो सबै भन्ने, सोच्ने कुरा मात्र हुन् । अनि तपाईंचाहिँ भर पर्नुभएको होला, होइन ? अहँ, मलाई त विश्वास लाग्दैन ।’

भोजपुरेजी तपाईंप्रतिको अविश्वास देखेर मलाई आफ्नै श्रीमतीसँग हुनसम्मकै जंग चलेर आयो । तर, अहिले यो समयमा उसले भनेको छ ठीकै हो कि भन्ने लाग्दै छ । मसँग कुनै थप बोल्ने शब्द थिएन । चुपचाप तपाईंलाई सम्झिरहेँ । सोचेँ बाँचुन्जेल कल्पना गर्नु, सपना देख्न त पाइन्छ नि जीवनमा ।

यही बेला श्रीमतीले फेसबुक हेर्दै टक्क रोकेर भनिन्— ओहो ! आज त वैशाख १२ गते पो रहेछ । ४ वर्षअगाडि भूकम्प गएको दिन भीमसेन थापाले निर्माण गरेका धरहरा, सयौं मठमन्दिर र घरहरू ढलेको दिन ! सयौं परिवारले आफन्त गुमाउनुपरेको, सहरभित्रका मानिसहरू सबै घर छोडेर टुँडिखेलमा रंगशालामा थुप्रिएका छन्, हामी भने गहनापोखरी छेउको पसल सटरमा ओत लागेर बसेका थियौं, बेलाबेलामा परकम्प हुने, एक पटक त अगाडिको पीपलको बोट पूरै लच्किएको थियो, टुप्पाले भुइँ छुने गरी । यो बिजुलीका पोलहरू नाच्न थालेको सारा हाहाकार, कोलाहल हामी भने सबै परिवार एउटै अँगालोमा गुजुल्टो परेर बस्यौं, मरे पनि सँगै मरौं भन्ने लाग्यो । अभिन्न मित्र भोजपुरेजी, त्यस समय सायद तपाईं अमेरिकामै हुनुहुन्थ्यो होला । यी सबको समस्या रेडियो, टीभीमा हुर्नु, सुन्नुबाहेक भोग्नुभएन । हामीले प्रत्यक्ष भोग्यौं भूकम्पको त्रासदी कस्तो हुन्छ भनेर ।

कस्तो विरोधाभास ! जीवनका भोगाइहरू चार वर्षअगाडि ठीक आजकै दिन घरबाहिर निस्किएर मान्छेको भीडमा मिलेर बस्नुपर्ने । ४ चार वर्षपछि अहिले ठीक विपरीत कोरोनाले गर्दा फाल्टो वा बाहिरिया मान्छे देख्दा भाग्नुपर्ने, घरैभित्र लुक्नुपर्ने । जो मान्छे देख्दा पनि कोरोना नै आयो भनेर डराउनुपर्ने । केके भोगियो–भोगियो । बाँचेकाले भोगियो, भनौं ।

अभिन्न मित्र,

लेख्नु त धेरै थियो, जति लेखे पनि सकिँदैन, मुड चलेपछि चल्यो चल्यो, चलेन भने चलेन चलेन, अचम्मैको स्वभाव छ मेरो ।

अभिन्न मित्रजी,

चाँडै आउनुहोस् ल नेपाल अनि भेटौंला । त्यी भेटमा दुःखसुखका बात मारौंला । हामी जोरभाइका कतिपय नखुलेका कुरा भेटमा खोलौंला । आगे तपाईंको मर्जी ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको