आज कृष्ण जन्माष्टमी

जन्माष्टमी

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई । बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ ‘कंस, तँ जसलाई पुर्याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।’

आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई दिने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान गर्यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मार्यो । देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिइन् ।

शेषनागका अवतार मानिने बलरामले देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्म लिए । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित भए । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे ।

श्रीकृष्णले आफूलाई गोकुलको नन्द बाबाको घरमा र्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने आदेश दिए । वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफै खुले । घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिई तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए ।

कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर ‘तँलाई मार्ने बालक जन्मिसकेको छ पापी ’ भनी अन्तध्र्यान भइन् ।

कंसले त्यो दिन गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई श्रीकृष्णले बध गरे । श्रीकृष्णले अनेक लीलाहरू देखाए जसलाई कृष्णचरित्र पनि भनिन्छ ।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु, बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्रअन्तर्गत पर्दछन् ।

कसंले आफ्नै बुबा उग्रसेन राजालाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । संसार पूरै अस्तव्यस्त भयो ।

कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टिजस्ता राक्षसहरूको तागत बढ्दै गयो । जगत्मा व्याप्त हिंसा र अशान्तिलाई हटाएर सुख र शान्तिको व्यवस्थापन गर्न भगवान् श्रीकृष्ण अवतरित भएका हुन् ।

भगवान् श्रीकृष्णलाई विष्णुको पूर्णकला अवतार मानिन्छ । श्रीकृष्ण लीलापुरुष हुन् । आफ्नो जीवनकालमा उनले धेरै लीला गरे । कंश, शिशुपाल, चाणूर र मुष्टिजस्ता राक्षसहरूको बध गरे । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । पृथ्वीमा सत्य धर्म र अहिंसाले राहत पायो ।

युद्धबाट विरक्तिएका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन श्रीकृष्णले कुरुक्षेत्रको रणभूमिमा उपदेश दिए । ती भगवान्का पवित्र वाणीको संग्रहलाई श्रीमद्भगवद्गीता भनिन्छ । यसले बाटो बिराएकाहरूलाई मार्गनिर्देश गर्छ ।

भगवद्गीतामा शुद्ध आचार, शुद्ध विचार र शुद्ध कर्मलाई नै धर्म भनी परिभाषित गरिएको छ । श्रीकृष्णका वाणीहरूको सङ्ग्रह भगवद्गीताको अध्ययन हिन्दुहरूले मात्र नभई यसको महत्व बुझेका सबै धर्मावलम्बीले गर्ने गरेको पाइन्छ ।

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनासँग जोडिएर हरितालिका तीज पर्वका रूपमा रूपान्तरित हुन पुग्यो ।

श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधि–विधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासना गर्दछन् । दिनभरि निराहार रहेर भगवान्को नाम सङ्कीर्तन गर्नुका साथै गीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ ।

यसप्रकार हिन्दुहरूको महान् पर्व श्रीकृष्ण जन्माष्टमीले भगवान्को प्रिय बन्नको लागि सदा धर्मको पालना गर्नुपर्ने तथा मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।