गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने, यस्तो छ समीकरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका हुन् । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ । ६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा एमाले बाहेकका विपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल तुल्याउन एकजुट भएका छन् । प्रदेशसभामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा साविक नयाँ शक्ति पार्टी गरी चारवटै दल वर्तमान सरकारविरुद्ध एकजुट भएका हुन् । चारवटै दलले बुधबार नै आफ्ना सांसदलाई विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदानका लागि ह्वीप जारी गरिसकेका छन् ।

प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ । तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा छन् । सोही कारण पार्टीको कारवाहीसमेत झेलिसकेका उनी उक्त कारवाही विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पूर्ववत् अवस्थामा फर्किएका हुन् ।

यसअघि पनि दलको निर्देशनलाई मान्न अस्वीकार गरेका उनले विश्वासको मतसम्बन्धी प्रस्तावमा कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्ने प्रस्ट भइसकेको छैन । उनले विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन जनाएको खण्डमा पनि सरकारलाई बहुमत जुटाउन थप दुई सांसद आवश्यक हुन्छ ।

यता उनले साथ दिएको खण्डमा भने विपक्षी गठबन्धनले ३१ सांसदको समर्थन सहित नयाँ सरकारका लागि दावी गर्न सक्छ । तर सांसद थापाले विपक्षी गठबन्धनलाई साथ दिने सम्भावना नरहेको जानकारहरु बताउँछन् ।

उनले संसदीय दलको ह्वीप उल्लंघन गरेर विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गरेमा भने कारवाहीको भागिदार हुने राष्ट्रिय जनमोर्चाको संसदीय दलका नेता पियारी थापाले बताइन् ।

ह्वीप उल्लंघन गरेबापत उनी कारवाहीमा परेको खण्डमा प्रदेश सभाको अंकगणित कुल ५९ सांसदमा सीमित हुन्छ भने विपक्षी गठबन्धनलाई बहुमत जुटाउन ३० सांसदको समर्थन भए पुग्छ ।

त्यसैले पनि अविश्वासको प्रस्ताव विफल तुल्याएर नयाँ सरकार गठनका लागि दावी गर्ने रणनीतिमा विपक्षी गठबन्धन एकजुट भएका हुन् । ह्वीप उल्लंघनबापत थापा कारवाहीमा परेको अवस्थामा प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको २ र जसपाको २ सांसद गरी जम्मा ३० सांसदको समर्थनमा नयाँ सरकार गठन गर्न सक्ने विपक्षी दलहरुको भनाइ छ । थापाले विपक्षी गठबन्धनलाई सघाएको खण्डमा समेत आफूहरुसँग नै बहुमत जुट्ने नेपाली काँग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले बताए ।

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको