नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर, जसको पोल्टामा छ जहाज सुरक्षाको जिम्मा

काठमाडौं । विगत एक दशकदेखि नेपाल वायुसेवा निगममा सुनीरा रेग्मीले एक्ली महिला एरोस्पेस इन्जिनियर रहेर काम गरिरहेकी छिन् । खुला प्रतिस्पर्धाबाटै नाम निकालेर निगममा प्रवेश गरेकी रेग्मीले एक दशकसम्म लगातार कमाण्ड सम्हालिन्, एक्ली महिला एरोस्पेस इन्जिनियरका रूपमा । उनी निगममा काम गर्न थालेको १२ वर्षपछि बल्ल एकजना महिला थपिएकी छिन्, उनको विभागमा ।

निगममा लामो समय एक्ली महिलाको रूपमा मात्रै होइन, रेग्मी नेपालकै पहिलो महिला एरोस्पेस इन्जिनियर हुन् । नेपाल इन्जिनियरिङ काउन्सिलबाट सन् २००८ मा इजाजतपत्र लिँदा उनी नै पहिलो महिला थिइन् । काउन्सिलको रजिष्ट्रेसनमा महिलाको सूचीमा रेग्मीकै नाम अग्रपंत्तीमा छ ।

सन् २००८ मा नेपाल वायुसेवा निगममा परीक्षा दिने वेलामा परीक्षार्थी र इन्भिजिलेटर सबैको नजर रेग्मीमा थियो । कारण, परीक्षा हलमा एक्ली महिला । ‘हलमा २५ जना परीक्षार्थीमध्ये म एक्ली महिला थिएँ,’ उनले भनिन् ।

परीक्षा हलमा बसेका ‘इन्भिजिलेटर’ले पनि शंकालु भावमा सोधेका थिए उनलाई, ‘तपाईं यही परीक्षाका लागि आउनुभएको त हो नि !’ परीक्षा थियो, ‘अपरेसन इन्जिनियर’को । सात महिनापछि नतिजा आयो ।

दुई जनाका लागि खुलेको आवेदनमा २५ जनाले परीक्षा दिएका थिए । उनीलगायत चार जनाको नाम निस्कियो । त्यतिवेला न कोटाको व्यवस्था थियो, न त लोकसेवाको परीक्षा नै हुन्थ्यो । खुला प्रतिस्पर्धाबाटै उनले नाम निकालिन् । र, १० वर्षदेखि निगमको अपरेशन विभागअन्तर्गत एरोस्पेस इन्जिनियरका रूपमा कार्यरत छिन् ।

रेग्मीले यो विधा त्यतिबेला छनोट गरिन् जतिवेला नेपाली समाज यसबारे अनभिज्ञजस्तै थियो । कहिलेकाहीँ आफन्तले के पढ्छौं भनेर सोध्दा उनी ‘एरोस्पेस इन्जिनियर’ भन्थिन् । आफन्तजन अक्क न बक्क पर्थे ।

पढाइ सकेर काम थाल्न खोज्दा काम पाउनै मुस्किल थियो । मुस्किल मात्रै होइन, काम पाइहाल्यो भने पनि आफ्नो विज्ञता अनुसारको भूमिका हुन्थेन । पढाइ सकेपछि पहिलो पटक बुद्ध एयरमा विना तलब एक वर्ष काम गर्दा रेग्मीले गरेको पहिलो काम थियो, जहाजका टायर उठाउने ।
‘त्यतिवेला मेकानिकल इन्जिनियरलाई सहयोग गर्नुपथ्र्यो । ठुल्ठूला टायर उठाउनुपथ्र्यो । धन्न म अलि मोटीघाटी नै थिएँ,’ उनले भनिन् । हुन त अहिले पनि नेपालमा यो विषय पढेर काम गर्न चाहनेका लागि पर्याप्त अवसर नभएको उनी बताउँछिन् । नेपालमा एरोस्पेस इन्जिनियरको काम एयरलाइन्स कम्पनीमै मात्र सीमित छ ।

पाइलट बन्ने सपनाको दिशा मोडियो

रेग्मी पढाइमा सामान्य विद्यार्थी थिइन् । जीवनमा केही बन्नुपर्छ भने अठोट तीव्र थियो । त्यसैले आफू बुझ्ने भएदेखि नै उनले पाइलट बन्ने सपना पालिन् । किनभने एभिएसन विधा ‘ग्ल्यामरस’ लाग्थ्यो उनलाई । हात्तीवनस्थित लिटल एन्जल्स स्कुलबाट एसएलसी दिएपछि उनी पाइलट बन्ने आफ्नो सपनाप्रति अडिग भइसकेकी थिइन् ।

त्यतिबेलासम्म रेग्मीलाई एरोस्पेस इन्जिनियरबारे केही पनि ज्ञान थिएन । त्यही क्रममा बाबु डा. सुदर्शनप्रसाद रेग्मीले उनलाई एरोस्पेस इन्जिनियरिङबारे बुझाइदिए । ‘यो त पाइलट भन्दा पनि उच्च श्रेणीको पेशा हो,’ बुबालाई उद्धृत गर्दै रेग्मीले भनिन् । बुबाको परामर्शपछि उनले पनि केही अनुुसन्धान गरिन् । त्यसपछि उनको मनमा गढिसकेको थियो ‘यो त पाइलटहरूको पनि कोच हुनेजस्तै पो रहेछ’ भन्ने विचार । यो विचारसँगै मोडियो रेग्मीको दिशा पनि । उच्च शिक्षा अध्ययनका लागि उनी भारत पुगिन् ।

भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङ कलेज’मा आफ्नो ब्याचमा त्यो विषय पढ्ने एक्ली महिला थिइन्, उनी । कक्षाकोठामा एक्लै महिला हुँदाका ती दिन सम्झिन्छिन् । ‘मास्टर्स गर्दा त झन्डै पढाइ छाडेकी थिएँ, तर हार मानिनँ,’ उनी भन्छिन्, ‘सुरुसुरुमा कक्षामा हाँसिमजाककी पात्र पनि बन्थें । विस्तारै पुरुष साथीहरू पनि आत्मीय बन्दै गए ।’ स्नातक पढ्दा ४४ जना पुरुषको भीडमा उनी एक्ली महिला थिइन् भने स्नातकोत्तर गर्दा पनि ६० जना पुरुष भएको कक्षामा उनी एक्ली महिला ।

तर, जति आत्मीय बने पनि महिला भएकै कारण कहिलेकाहीँ ‘कम्बाइन स्टडी’ गर्ने इच्छा हुँदा पनि केटाको होस्टेलमा जान मिल्थेन । आफ्नो सहकर्मीसगँ गरौं भने कोही पनि थिएनन् । होस्टेल जाँदा एक्लै महिला हुँदा भने दिक्क लाग्थ्यो उनलाई ।

उनीसँगै पढेका साथीहरू अहिले बोइङ, एयरबसजस्ता ठूला कम्पनीमा काम गर्छन् । उनी विगत १२ वर्षेखि निगममा कार्यरत छिन् ।

जहाज सुरक्षाको काम उनकै पोल्टामा

एरोस्पेस इन्जिनियरले के काम गर्छन् भन्नेबारे अहिले पनि धेरैलाई अनभिज्ञता हुन सक्छ । निगमकी सिनियर अपरेसन इनिजनियर रेग्मीका अनुसार जहाज उँड्दाउँड्दै इन्जिन बन्द भयो भने ‘क्रू मेम्बर’ लाई मार्गदर्शन गर्ने काम हो, उनको । उनको निर्देशनअनुसार नै पाइलटले सिमुलेटरमा लगेर भेरिफाइ गर्छन् । जस्तो– अक्सिजन मास्क ड्रपआउट हुँदा के गर्ने, नयाँ ठाउँमा जानुअघि त्यस ठाउँको विश्लेषण गर्ने, जहाजमा लोड, फ्युल कति राख्ने भन्ने जिम्मेवारी उनीहरूकै हो ।

सर्भिसिङपछि गाडीको टेस्ट ड्राइभजस्तै जहाजको पनि टेस्ट फ्लाइट हुन्छ, जसमा यात्रु हुँदैनन् । त्यतिबेला उनीहरूकै टोलीसहित जहाजको टेस्ट फ्लाइट गरिन्छ ।

एरोस्पेस इन्जिनियरको मुख्य काम भनेको विमान र अन्तरिक्षयानको विकाससँग सम्बन्धित हुन्छ । यसभित्र पनि इन्जिनियरिङका दुई प्रमुख शाखाहरूको संयोजन छ । एक विमानसँग सम्बन्धित र अर्को अन्तरिक्षयानसँग ।

तर, नेपालमा एरोस्पेसको क्षेत्रमा काम गर्ने अनुसन्धान तथा विकास केन्द्र, ल्याबोरेटरी र शैक्षिक संस्थाहरू धेरै कम छन् । हाल पुल्चोक इन्जिनियरिङ क्याम्पसले भने एरोनटिकल इन्जिनियरिङको अध्यापन सुरु गरेको छ । ‘मान्छेहरूमा विस्तारै यसप्रति चासो बढ्दै छ । हालको अवस्थामा हेर्दा, नेपालमा एरोस्पेस इन्जिनियरको काम एभिएसन अर्थात् वायुसेवाको क्षेत्रमा मात्रै सीमित छ,’ रेग्मी भन्छिन् ।

रेग्मीलाई अब पहिलो हुने नशा नै चडिसक्यो । भविष्यका लागि के योजना छन् भनेर प्रश्न गर्दा उनी भन्छिन्, ‘पीएचडी गर्नु छ । त्यसपछि अन्तरिक्ष या चन्द्रमामा जाने पहिलो नेपाली महिला हुन मन छ ।’

Related Post
विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी प्रधानमन्त्री मारिनले गरिन् विवाह

विश्वकै कान्छी रास्ट्रप्रमुख फिनल्यान्डकी प्रधानमन्त्री सना मारिनले गएको आइतबार आफ्ना प्रेमी मार्कस रायकोनेनसँग विवाह गरेकी छिन्।उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहँदै आएका थिए। लामो प्रेमलाई गएको आइतबार दुबैले विवाहमा परिणत गरेका हुन्।सिमित आफन्त र साथीभाइका बीच मरिनको विवाह सम्पन्न भएको हो।

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

एउटा वडाबासिले रुदै बोलाउदा मैले वास्ता नगर्नु पर्थ्यो?: वडा अध्यक्ष काफ्ले

वडा अध्यक्ष काफ्लेले आफुलाई पिडित पक्षले रुदै घटना स्थलमा बोलाए पछि तुरुन्तै प्रहरीलाई फोन गरेको बताऊनु भएको छ।प्रहरी बोलाऊने बाहेक आफ्नो उक्त बिबाद मिलाऊन भनेर कुनै संलग्नता नरहेको