डा. बाबुराम भट्टराई : शान्त छोरा, उत्सुक पिता

  • By : रामकृस्ण कंडेल
  • रोचक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी भर्खरै आमा बनेकी छिन् । पूर्वप्रधानमन्त्री भट्टराईले नाति एक हप्ताको हुँदा सामाजिक सञ्जालमा ६६ वर्षीय आफू, ३४ वर्षीया छोरी अनि ९० पुगेका बाबु भोजप्रसादको फोटा हाले । छाेरा, बुबा हुँदै हजुरबुबाकाे भूमिकामा पुगेका डा. भट्टराई कस्ता छोरा र कस्ता बुबा हुन त ? बुबा भाेजप्रसाद र छाेरी मानुषीसँग गरिएकाे कुराकानी :

बुबा भोजप्रसादको नजरमा शान्त छोरा, फेरि प्रधानमन्त्री भएकाे हेर्ने चाहना 

बाबुराम सानैदेखि पढिरहने र शान्त स्वभावकाे भएकाे भाेजप्रसाद बताउँछन् । उनी भन्छन, 'चकचके त एकदमै थिएन, मेरो बाबुराम । कसैलाई केही दुःख दिएन कहिल्यै पनि ।’ 

कोटेश्वरस्थित कान्छा छोरा शिवप्रसाद भट्टराईको घरमा बस्दै आएका भोजप्रसाद पत्रपत्रिकामा छोराबारेका समाचार हेर्छन् । देशमा के भइरहेछ, रुचिपूर्वक पढ्न सक्नेजति पढ्छन् ।

भन्छन, ‘छाेराकाे बारेमा राम्रै लेखेको देख्छु म त । तर, अचेल त उसकाे बारेमा पहिलेजस्तो धेरै लेख्नै पो छोडिसके ।’ बाबुरामकाे जन्ममिति नागरिकतामा फरक परेको उनले बताए। नागरिकतामा भने ०११ असार ४ लेखिएपनि ०१० सालमा उनी जन्मिएकाे उनी बताउँछन् ।  बाबुरामलाई कक्षा ३ सम्म गाउँकै भक्तबहादुर भुजेलले पढाए । त्यसपछिको शिक्षा उनले लुइँटेलमा क्रिस्चियन मिसनरीले चलाएको अमरज्योति जनता स्कुलबाट लिएका हुन् । 

‘दुई घन्टा हिँड्नुपथ्र्यो, स्कुल पुग्न । त्यसैले उसलाई मैले भाडा लिइदिएरै राखिदिएँ, भतिजसँगै,’ बाबुरामको पढाइबारे उनले भने, ‘दसैँमा दुई महिना बिदामा घर आउँदा पनि ऊ वस्तुभाउ चराउने वेला किताब सँगै लान्थ्यो, पढिरहन्थ्यो । चकचके त एकदमै थिएन, मेरो बाबुराम । कसैलाई केही दुःख दिएन कहिल्यै पनि ।’ 

बाबुरामले ०२६ सालमा एसएलसी दिएपछि तीन महिना नवलपुरको विद्यालयमा पढाए । तर, एसएलसीमा बोर्ड फस्ट भएको कुरा भने घरमा कसैलाई थाहा थिएन, गाउँतिर भने अलि–अलि चर्चा भइसकेको रहेछ । 

‘बेलुका अबिर लाएर रातै भएर आएको थियो । मैले त कतै लड्यो कि, चोटपटक लागेछ भन्ठानेँ,’ हाँस्दै भोजप्रसादले भने, ‘हामी बुढाबुढी र जेठी छोरी त बेँसी थ्यौँ, खेतमा । रेडियोले उसको नाम भन्या’रछ ।’ एसएलसीमा आफ्नै गाउँको केटो बोर्ड फस्र्ट हुँदा गाउँलेमा खुसीको सीमा थिएन । 

एसएलसी पछि डा. भट्टराई उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए, त्यसक्रममा गाउँ र आफन्तबाट टाढै रहे । राजनीतिमा लागेर भूमिगत भएपछि परिवारसँग भेटघाटै थिएन । 

भोजराजको चाहना छोराले पैसा कमाओस् भन्ने थियो । छोरो डाक्टर वा इन्जिनियर बनोस् भन्ने इच्छा हुनुको पछाडि कारण थियो, तत्कालीन समाजमा यी पेसा प्रतिको सम्मान । तर, उनले छोरा बाबुरामको इच्छालाई नै आफ्नो इच्छा माने । उनीमाथि कुनै दबाब दिएनन्, मन लागेको कुरा गर्न दिए । 

‘एसएलसीपछि फागुनबाट बाबुरामले स्कुलमा तीन महिना पढाएको हो । त्यसपछि असारमा पढ्न गइहाल्यो, कहिल्यै जागिर खाएन,’ उनले छोराबारे थपे, ‘राजनीतिमा लाग्यो, तर पनि जे गर्दै छ, त्यसमा गुनासो छैन ।’

हिसिला सँगको विवाहबारे पनि उनका पिताले अन्यथा लिएका छैनन् ।’ब्राह्मण परिवारमा गैरब्राह्मण बुहारी आउँदा बाबुरामकी आमाको भने चित्त दुखेको थियो,’ सुनाउँछन् भोजप्रसाद ।

बाबुराम लाई ऊवेला गाउँलेहरू ‘भट्टराईबाका छोरा’ भनेर चिन्थे । ‘हाम्रो बिहे ९–१० वर्ष छँदा भयो । उसले कम्तीमा पनि १५–१६ वर्षमा गर्छ जस्तो लाग्या’थ्यो, तर गर्न मानेन,’ उनले थपे, ‘पढेको मान्छेले पढेकैलाई बिहे गर्छ भन्ने थाहा थियो । ढिला बिहे गर्छ भन्ने पीर थियो ।’

जब ०५२ मा माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो, माओवादीको खोजी गर्ने सुरक्षाकर्मीले गाउँमा दुःख दिन थाले । त्यसपछि भोजप्रसाद सपरिवार राजधानी आए । तर, शान्तिप्रक्रिया सुरु नहुँदासम्म काठमाडौंमा पनि उनी चैनले बस्न पाएनन् । दिनमा होस् वा राति, प्रहरी आएर सोध खोज गर्थे । भोजराज कान्छा छोरा–बुहारीसँग कोटेश्वरमा बस्ने गर्थे । प्रहरीको केरकारले हैरान बनाउँथ्यो ।

ज्योतिष परिवारमा जन्मिएका बाबुरामको पनि चिना बनाइएको थियो । त्यसवेला ‘ठूलो मान्छे बन्छ’ भनिएकाले पनि छोरोले केहीचाहिँ गर्छ भन्ने रहेछ, भोजप्रसादलाई । अहिले उनी भन्छन्, ‘प्रधानमन्त्रीसम्म भएपछि त ठूलै मान्छे भन्नुपर्‍यो नि !’

एकीकरणपछिको दलमा उनको भूमिकाभन्दा पनि उनलाई फेरि एकपटक प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छन्, भोजराज । भन्छन्, ‘नयाँ पार्टीको पनि पालो आउँछ कि भन्ने आस छ । छोरोको प्रधानमन्त्री बन्ने पालो फेरि आइदिए हुन्थ्यो भन्ने लागेको छ ।’ 

मानुषीको नजरमा बाबुराम : उत्सुक पिता 

मानुषी लाई पिताका रूपमा बाबुरामले समय दिन नसकेको गुनासो छ भने बाबाट पाएको समय गुणात्मक हिसाबले अमूल्य रहेको उनको बुझाइ छ । 

बाबुरामलाई निरन्तर सक्रिय र उत्सुक व्यक्तिका रूपमा हेर्छिन्, छोरी मानुषी । बुबासँग पहिलोपल्ट अलि लामो समय बिताएकी थिइन्, उनले गोरखामा । ‘म सायद ८–९ वर्षकी थिएँ,’ उनी साढे दुई दशकअघि फर्किन्छिन्, ‘मलाई सन्चो थिएन । तर, बुबासँग गोरखा दरबार घुम्न जाँदा धेरै उकालो चढ्नुपरेको थियो । खुट्टा सुन्निएको थियो ।’

त्यसवेला कानुन व्यवसायी राजेन्द्र ढकालको घरमा वास बसेको सम्झिन्छिन्, उनी । ‘उहाँको कोठा याद छ, मलाई । माथि हामी बसेका थियौँ, तल रेस्टुरेन्ट थियो,’ उनले सम्झिइन्, ‘पछि थाहा पाएँ, जनयुद्ध सुरु हुने वेला ज्यानको के हुने हो, पत्तो थिएन । त्यसैले आफ्ना जग्गा नामसारीका लागि मलाई सदरमुकाम लानुभएको रहेछ ।’ 

मान्छेहरू भेट्न आइरहने, विभिन्न विषयमा छलफल भइरहने भएकाले केही–केही भने बुझ्न थालेकी थिइन् । बा–आमा राजनीतिक कार्यमा व्यस्त हुनुहुन्छ भन्ने थाहा थियो, तर त्यो भनेको के हो, के गर्नुपर्छ भन्ने उनले बाल्यावस्थामा बुझ्न सक्ने कुरै भएन । बाबुराम भूमिगत भएपछि चिठीपत्रका माध्यमबाट बा–छोरीबीच सम्पर्क हुन्थ्यो । 

उनी मावल बसिन् । आफूलाई हुर्काउन आमा हिसिलाको भूमिका बढी छ लाग्छ, उनलाई । तर, त्यसमा आमालाई बुबाले गरेको सहयोग पनि उत्तिकै महत्वपूर्ण छ । प्रायः परिवारमा आमा कोमल मनकी हुन्छिन् भने बुबादेखि डराउने वातावरण हुन्छ । 

मानुषीको हकमा भने उनले बा–आमाबाट गाली खाएको सम्झना छैन । बा–आमा सबै कुरामा एकमत राख्थे । ‘अरूको घरमा बच्चालाई एकजनाले गाली गर्ने, अर्कोले फकाउने हुन्छ । हाम्रोमा आमा–बाबीच सहमति नै भएको रहेछ, त्यसो नगर्ने,’ उनले भनिन् । 

बाल्यकालमा आमा–बा अझ बा बाबुरामसँग नजिक हुन सकिनन्, मानुषी । तर, पत्रमार्फत भने खबर आदान–प्रदान भइरहेको हुन्थ्यो । त्यसअघिका सम्झना मधुरो छन्, उनको मस्तिष्कमा । दसैँमा गोरखा जाँदा हजुरबा भोजप्रसादले पिङ लाइदिन्थे । दसैँ–तिहारको लामो बिदामा गाउँ पुग्दा मक्ख हुन्थिन्, उनी । 

बाबुरामलाई पिताका रूपमा सम्झिनुपर्दा सिनेमा हेरेका दिन पनि स्मृतिपटलमा आउँछन् । फुर्सद भएका वेला राजधानीकै सिनेमा हलमा ‘माचिस’, ‘हुतुतु’ जस्ता फिल्म तीनैजना पुगेर हेरेका छन् । 

मानुषीलाई सम्झना छ, जब बा–आमा उनलाई लिएर पार्टी कार्यालय पुग्थे, त्यतिवेला बाबुराम संयुक्त जनमोर्चाका अध्यक्ष थिए । ‘म आन्दोलन र कार्यक्रममा पनि जान्थेँ । बिस्तारै नेपालको परिवेश, आर्थिक अवस्था, राजनीतिक समस्याबारे बुझ्न थालेँ,’ उनले भनिन् । 

आफ्नो कुरामा अडान लिइरहने, यो मानुषीलाई निकै मन पर्ने बानी हो, बाबुरामको । तत्कालीन माओवादीभित्र रहँदा होस् वा पार्टीबाट अलग भएपछि । या त नयाँ दल खोल्दा होस् वा पार्टी एकीकरणमा, बाबुराम राजनीतिमा सदैव निरन्तर रहे । निरन्तरता उनको विशेषता मात्र नभई सद्गुण हो भन्छिन्, मानुषी ।

बाबुरामले पार्टीमा उचित स्थान नपाएकोमा भने उनलाई दुःख छ । गैरराजनीतिक विषयमा पनि बाबुरामको रुचि उनलाई निकै मन पर्छ । नयाँ कुरा सिक्न, चाहे त्यो राजनीतिसँग सम्बन्धित होस् वा नहोस्, बाबुराम निकै उत्साहित हुन्छन् । विज्ञान, मनोविज्ञान, मनोरञ्जनजस्ता विषयमा चाख लिन्छन् । यसले व्यक्तिगत र राजनीतिक रूपमा आफ्नो बाको उचाइ बढाएको र सहयोग गरेको मान्छिन्, उनी । 

बाबुराम अर्काको जीवनमा हस्तक्षेप बिल्कुलै गर्दैनन् । पार्टीमा पनि उनको व्यवहार यस्तै छ । आफ्ना निर्णय लाद्ने प्रवृत्ति उनमा रत्तिभर छैन ।फरक विचार भए राख्छन्, तर अरूलाई जबरजस्ती आफ्नो कुरा मान्न कर गर्दैनन् । मानुषीको विवाहको बारेमा पनि बाबुराम र हिसिला दुवैको विचार यही थियो । 

उनी भन्छिन्, ‘परिवारअनुसार परिवेश फरक हुन्छ र त्यसैअनुसार सम्बन्ध र निकटता पनि । उहाँले व्यक्तिगत सम्बन्धमा निर्वाह गर्नुभएको भूमिका बुबाका हिसाबले मेरो लागि पर्याप्त र राम्रो छ ।’छोरी मानुषी पनि पार्टीको प्रगति र बाबुरामको राजनीतिक उचाइ बढ्ने आशा राख्छिन भन्दै शिल्पा कर्णको समाचार नयॉ पत्रिकाले प्रकाशित गरेको छ।

Related Post
किताब पढ्नुको फाइदा

किताब पढ्नुको फाइदा

१, गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् !२, बन्दुक र चक्कु भन्दा खतरनाक हतियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ !३, आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ !

लोक कथा:कड्काल

लोक कथा:कड्काल

गाउँघरमा एउटा लोक कथा प्रचलित छ | झट्ट सुन्दा विनोदपूर्ण पनि छ |साँझपख ससुराली पुगे | बाहिर खाटमा थचक्क बसे | ससुरा बाहिर निस्के |