कोपा अमेरिकाका लागि ब्राजिलले घोषणा गर्‍यो टिम

घरेलु मैदानमै १३ जुनदेखि सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि ब्राजिलले अन्तिम टिमको घोषणा गरेको छ । प्रशिक्षक टिटेले प्रतियोगिता सुरु हुनु तीन दिन अघि २४ सदस्यीय टिम घोषणा गरेका हुन्।

अर्जेन्टिना र कोलम्बियाका लागि तय भएको कोपा अमेरिका ब्राजिलले अन्तिम क्षण आयोजनाको अवसर पाएको हो। अर्जेन्टिनामा कोरोना महमारी र कोलम्बियामा सरकार विरोधी प्रदर्शन चर्किएपछि अन्तिम समयमा प्रतियोगिता ब्राजिलमा सारिएको थियो।

प्रतियोगिता सुरु हुन तीन मात्र बाँकी रहेपनि प्रतियोगिता शंकाकै घेरामा छ। ब्राजिल कोरोना सबैभन्दा बढी प्रभावित हुने मुलुक मध्ये एक भएकाले घरेलु खेलाडी नै कोपा अमेरिका आयोजनाको विरोधमा छन् । अन्य देशका खेलाडीहरु पनि यसको विरोधमा छन्।

विरोधका बीच पनि ब्राजिलले कोपा अमेरिकाका लागि टिम घोषणा गरेका हुन्। टिममा विश्वकप छनोटअन्तर्गत इक्वेटर र पारग्वेविरुद्ध खेलेको टिम नै छ ।

ब्राजिलको टिममा ३ गोलकिपर, ८ डिफेण्डर, ६ मिडफिल्डर र ७ फरवार्ड छन्। प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले जुन १३ मा भेनेजुएलासँग खेल्ने तालिका छ। १० जुलाईसम्म चल्ने प्रतियोगिता ब्राजिलका ४ सहरका ५ रंगशालामा हुने छ।

२४ सदस्यी टिममा स्ट्राइकिङको नेतृत्व नेमारले सम्हाल्ने छन् । उनीसँगै स्ट्राइकरमा रोबर्टो फिर्मिन्हो, भिनिसियस, रिचार्लिसन, एभर्टन, ग्याब्रियल जेसुस र ग्याब्रियल बारबोसा छन्।

यसैगरी मिडफिल्डमा कार्लोस कासेमिरो, डग्लस लुइस, एभर्टन रिबेरियो, फाबिन्हो, फ्रेड र लुकास पक्वेटा छन् । यस्तै, डिफेन्समा थिएगो सिल्भा, ड्यानी अल्भेस, मार्किन्होस, इडर मिलिटाओ, लुकास भेरिसिमो, डानिलो, एलेक्स सान्ड्रो र रेनन लोडी छन्। गोलकिपरमा भने एलिन्सन, इडर्सन र वेभेरटन छन्।

                                                                                           

Related Post